एभरेष्ट भेन्चर्सले पहिलो वर्ष नै ७ प्रतिशत बोनस शेयर वितरण गर्ने
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा सञ्चालनमा आएको पहिलो वर्षमै ७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीका लागि ७ प्रतिशत बोनस शेयर र सो बापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। अधिकृत पूँजी २ अर्ब, जारी पूँजी ५० करोड र संस्थापकहरुले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका ३३२ जना शेयरधनी छन्। कम्पनीले पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने व्यापक उद्देश्यहरु लिएको बताईएको छ। कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने लगायतका प्रस्तावहरु साधारण सभामा लैजाने निर्णय पनि गरेको छ।
२०८१ साल असार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केन्द्रित गरी जोखिम व्यवस्थापन गरेर शेयरधनीलाई राम्रो प्रतिफल दिने कृयाकलापहरु गरिरहेको छ।
शेयर बजारका लगानीकर्ताहरुले स्थापना गरेको कम्पनी कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन्।
प्रकाशित समय : ११:०१ बजे






















