नाइमा मोबिलिटी एक्सपोमा डोङफेङका विद्युत्तीय बसहरू सार्वजनिक हुँदै
वि.सं.२०८३ साउन २४ आइतवार
काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चिनियाँ अटोमोबाइल जायन्ट ‘डोङफेङ’ ब्रान्डका विद्युत्तीय बसहरू नेपाली बजारमा भित्र्याउने भएको छ ।
आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ को अवसर पारेर यी बसहरू आधिकारिक रूपमा सार्वजनिक गरिने भएको हो ।
कम्पनीले पहिलो चरणमा १२ मिटर लम्बाइ भएका र २६ देखि ३० सिट क्षमताका दुईवटा मोडलहरू बजारमा ल्याउने तयारी गरेको छ । यसका अतिरिक्त,कम्पनीले निकट भविष्यमा नै ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट क्षमताका ठूला बसहरू समेत भित्र्याउने योजना बनाएको जानकारी दिएको छ ।
डोङफेङ बसको विस्तृत प्राविधिक विशेषता र मूल्य अटो एक्सपोकै क्रममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । हाल बजारमा उपलब्ध सोही श्रेणीका अन्य बसहरूको तुलनामा डोङफेङका बसहरू प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने दाबी कम्पनीको छ । साथै, एक्सपो अवधिभर बस बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था समेत गरिएको छ ।
आयाम इन्टरकन्टिनेन्टलले बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन हिमालयन अर्गनाइजेशनको देशव्यापी सञ्जाललाई उपयोग गर्नेछ । देशभर रहेका शाखा तथा डिलरहरू मार्फत ग्राहकले सहजै स्पेयर पार्ट्स र मर्मत सम्भारको सुविधा पाउने सुनिश्चित गरिएको छ । यो नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली सार्वजनिक यातायात र पर्यटकीय यातायातको क्षेत्रमा नयाँ विकल्प थपिने अपेक्षा गरिएको छ।
प्रकाशित समय : १९:३४ बजे






















