नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न
वि.सं.२०८३ साउन २० बुधवार
काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market) लाई थप पारदर्शी, प्रविधिमैत्री, विश्वसनीय र लगानीकर्ताको हित अनुकूल बनाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्ड (SEBON) ले एक महत्त्वपूर्ण कदम चालेको छ। बजारमा विद्यमान नीतिगत तथा प्रक्रियागत अन्योलतालाई सम्बोधन गर्दै प्रणालीगत सुधार ल्याउन धितोपत्र बोर्डले सात सदस्यीय उच्चस्तरीय ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ गठन गरेको छ।
गठित उच्चस्तरीय कार्यदलको संयोजकत्व बोर्डको नियमन विभागका कार्यकारी निर्देशक बिनयदेब आचार्यले सम्हालेका छन्। पूँजीबजारका सम्पूर्ण सरोकारवाला निकायहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्माण गरिएको यस कार्यदलमा धितोपत्र बोर्डका तर्फबाट तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (NEPSE) का एक जना प्रतिनिधि, मर्चेण्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन्। यस किसिमको समावेशी संरचनाले बजारका वास्तविक समस्या पहिचान गरी व्यावहारिक समाधान पहिल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।
आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीति अन्तर्गत रहेको ‘नियामकीय सुधार’ (Regulatory Reform Agenda) लाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने लक्ष्यसहित गठित यस कार्यदलको पहिलो औपचारिक बैठक २०८३ साउन १९ गते धितोपत्र बोर्डको केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। उक्त प्रारम्भिक बैठकमा प्राथमिक बजारको वर्तमान परिदृश्य, निष्काशन प्रक्रियामा देखिएका व्यावहारिक जटिलता र भावी सुधारका सम्भावित क्षेत्रहरूका बारेमा सहभागीहरूबीच गहन र विस्तृत छलफल भएको थियो।
कार्यदलले मूलतः धितोपत्रको सार्वजनिक निष्काशन (IPO) तथा बुक बिल्डिङ्ग प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा केन्द्रित रहेर कार्य गर्नेछ। यसका अलावा आईपीओ बाँडफाँड प्रणाली, डिजिटल आईपीओको पूर्ण कार्यान्वयन, निष्काशनकर्ता कम्पनीहरूको योग्यता निर्धारण तथा वस्तुनिष्ठ मूल्य निर्धारण (Pricing) जस्ता संवेदनशील विषयहरू कार्यदलको मुख्य प्राथमिकतामा परेका छन्। त्यसैगरी, मर्चेन्ट बैंकरहरूको भूमिका तथा उनीहरूले गर्ने ड्यु डेलिजेन्स (Due Diligence) को गुणस्तर अभिवृद्धि गर्ने, संस्थागत लगानीकर्ता र एङ्कर इन्भेस्टर्स (Anchor Investors) को सहभागितालाई पारदर्शी बनाउने एवं निष्काशन पछिको अनुगमन (Post Issue Monitoring) लाई कडा बनाउने जिम्मेवारी पनि कार्यदललाई तोकिएको छ।
बजारको बृहत्तर हितका लागि कार्यदलले आवश्यकता अनुसार अन्य नियमनकारी तथा पेशागत सरोकारवाला निकायका विज्ञहरूलाई समेत छलफलमा आमन्त्रित गर्न सक्ने अधिकार पाएको छ। जसअन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), विद्युत नियमन आयोग (ERC), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (CDSC) का प्रतिनिधिहरूलाई विषयवस्तुको प्रकृति अनुसार आमन्त्रण गरी सल्लाह र सुझाव लिइनेछ। सरोकारवालाहरूको व्यापक सहभागितामा हुने यो प्रयासले प्राथमिक बजारमा रहेका संरचनागत समस्याहरू हल भई आम लगानीकर्ताको मनोबल उच्च बनाउन निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : ०९:४१ बजे





















