निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै, नाइमा एक्सपोमा प्रत्यक्ष अवलोकन गर्न सकिने
वि.सं.२०८३ साउन २४ आइतवार
काठमाडौं। निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले नयाँ प्रिमियम एसयूभी टेकटन आगामी अगस्ट ११ मा आधिकारिक रूपमा सार्वजनिक गर्ने भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर यो नयाँ मोडल नेपाली बजारमा लन्च गर्न लागिएको हो। गत जुलाई ९ मा भारतको मुम्बईमा सम्पन्न ग्लोबल प्रिमियरपछि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै यो गाडी नेपाल ल्याउन लागिएको कम्पनीले जनाएको छ।
निसानको प्रसिद्ध फ्ल्यागशिप गाडी निसान प्याट्रोलबाट प्रेरित भई डिजाइन गरिएको टेकटनले कम्पनीको ७५ वर्ष लामो एसयूभी विरासतलाई निरन्तरता दिएको छ। ‘डिजाइन्ड टु डिसरप्ट’ अवधारणामा आधारित यस गाडीमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, सिग्नेचर सी–सेप्ड एलइडी लाइटिङ र होरिजन्टल फ्रन्ट डिटेलिङ समावेश गरिएको छ। सहरी सडकदेखि अप्ठ्यारा पहाडी बाटोहरूसम्म उत्कृष्ट कार्यक्षमता देखाउने गरी यसको बाहिरी बनावट तयार पारिएको छ।
गाडीको भित्री भागमा टेक–लिंक एचडी इन्फोटेनमेन्ट सिस्टमका साथै वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता आधुनिक कनेक्टिभिटी सुविधाहरू उपलब्ध छन्। आरामदायी यात्राका लागि यसमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यू क्यामेरा, ई–शिफ्टर र ७०० लिटर क्षमताको ठूलो बुट स्पेस दिइएको छ। सुरक्षालाई विशेष ध्यानमा राख्दै टेकटनमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेराका साथै इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट तथा ब्लाइन्ड स्पट वार्निङ जस्ता एडभान्स ड्राइभर असिस्टन्स सिस्टम (एडास) फिचरहरु उपलब्ध गराइएको छ।
पावरट्रेनका हिसाबले निसान टेकटन टी१६० र टर्बो टी२८० गरी दुई विकल्पमा उपलब्ध हुनेछ, जसले अधिकतम १६३ बीएचपी पावर र २८० एनएम टर्क जेनेरेट गर्दछ। खासगरी टर्बो टी२८० भेरियन्टमा ६ स्पीड वेट–क्लच डीसीटी र ई–शिफ्टर राखिएको छ, जसले चालकलाई सहज गियर परिवर्तन र उत्कृष्ट नियन्त्रणको अनुभव गराउँछ। अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने एक्स्पोमा सहभागीहरूले भृकुटीमण्डपस्थित निसानको स्टलमा पुगी यो नयाँ गाडीको प्रत्यक्ष अवलोकन र जानकारी लिन सक्नेछन्।
प्रकाशित समय : १८:४० बजे






















