निर्धन उत्थान लघुवित्तको २६औं वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८१ पुस २८ आइतवार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २६औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित निर्धन भवनमा सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष पन्तले गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन र साधारणसभाका प्रस्ताव माथि बोल्दै शेयरधनी प्रा. डा. फक्तबहादुर के.सी.ले संस्थाले विपन्न वर्गको सेवा गरेर गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
त्यस्तै संस्थापक डा. हरिहरदेव पन्तले विपन्नहरूको सेवा गरेर गरिबी निवारण गर्ने दूरदृष्टिले यस संस्थालाई अग्रणी बनाएको धारणा राखे। साथै सदस्य र ऋणी घटिरहेको अवस्थामा संस्थाले आन्तरिक अवस्था मजबुत बनाएर शेयरधनीको हात रित्तो पार्न नहुनेमा उनले जोड दिए।
साधारण शेयरधनी अच्युतराज जोशीले मर्जरको प्रस्तावबारे स्पष्टीकरण माग्दै मर्जरको उद्देश्य र संस्थाका प्राथमिकतासँग यसको सम्बन्ध प्रष्ट्याउन आग्रह गरे। उनले संस्थाको वर्तमान अवस्थामा मर्जर उचित नभएको र यसले संस्थापकको लक्ष्य पूरा गर्न नसक्ने बताउँदै संस्थाको नेतृत्व र व्यवस्थापनलाई सुधार गर्नुपर्ने सुझाव दिए।
त्यसैगरी शेयरधनी दामोदर प्रसाद रेग्मीले मर्जर आवश्यक हुन सक्ने भए पनि अहिलेको अवस्थामा उपयुक्त नभएको धारणा राखे। उनले शेयरधनीले लगानीअनुसारको प्रतिफल नपाएकोमा असन्तोष व्यक्त गर्दै आगामी वर्ष कम्तीमा मुद्रास्फीति अनुसार लाभांश दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा रामप्रसाद पाण्डेले संस्थाका कर्मचारीहरूको दक्षता र योगदानको चर्चा गर्दै संस्थाले विगतका जस्तो राम्रो प्रदर्शन गर्नुपर्ने बताए। यज्ञप्रसाद शर्माले संस्थाको आन्तरिक सुधारलाई प्राथमिकता दिँदै मर्जर प्रस्ताव स्थगित गरेर निर्धन उत्थानलाई अग्रणी संस्थाका रूपमा अगाडि बढाउन सुझाव दिए।
साधारण सभामा प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै शेयरधनीहरूको अपेक्षा अनुरूप आगामी वर्ष लाभांश वितरणको सम्भावना रहेको बताए।
उनले संस्थाको आन्तरिक संरचना र असुली प्रक्रियामा सुधार गर्दै कर्मचारी जिम्मेवारीमा परिमार्जन गरिएको जानकारी दिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पन्तले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै शेयरधनीहरूको सुझावलाई मार्गदर्शनको रूपमा लिएर संस्था सञ्चालन गरिने प्रतिवद्धता जनाए।
यस कार्यक्रमको सञ्चालन कम्पनी सचिव जग्यप्रसाद पन्तले गरेका थिए भने अध्यक्षता कम्पनीका अध्यक्ष हरिकृष्ण पन्तले गरेका थिए। कार्यक्रममा संचालक समिति, शेयरधनी, कर्मचारी, पत्रकार र विभिन्न संस्थाका प्रतिनिधि गरी २१० जनाको उपस्थिति रहेको थियो।
प्रकाशित समय : ११:५७ बजे





















