‘नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला
वि.सं.२०८२ फागुन १५ शुक्रवार
काठमाडौं । पहिलो संस्करणको उल्लेखनीय सफलतापछि सवारी साधन खरिद–बिक्री, अटोमोबाइल प्रविधि तथा नवीनतम विकासप्रति उपभोक्ताको बढ्दो रुचिलाई ध्यानमा राख्दै पोखरामा दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले यही चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो आयोजना गर्न लागेको हो।
पर्यटकीय राजधानी पोखरामा आयोजना हुन लागेको यस अटो शोमा साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला व्यवसायी कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। अटोमोबाइल बजार, नयाँ प्रविधि र उपभोक्ता आकर्षणको साझा मञ्चका रूपमा यस अटो शोले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनी तथा संस्थाहरूका लागि फागुन १२ गतेदेखि १९ गतेसम्म स्टल बुकिङ खुला गरिएको छ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि. ले गर्नेछ। स्टल बुकिङ तथा थप जानकारीका लागि इच्छुक पक्षहरूले [email protected] मा सम्पर्क गर्न सक्नेछन्।
प्रकाशित समय : १२:०४ बजे





















