इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले
सरकारको स्वच्छ छवि धमिल्याउन एउटा गिरोह नै लागेको आशंका
वि.सं.२०८३ जेठ २७ बुधवार
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे उच्चस्तरीय छानबिन अघि बढिरहेको खुलासा गरेका छन्। प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्र र राजनीतिलाई नै आफ्नो मुठ्ठीमा लिएर विकृत बनाउने शक्तिशाली पात्रहरू चाँडै नै न्यायको कठघरामा पुग्ने दाबी गरे।
ठूला वित्तीय अपराधीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढिरहेकै बेला संशयपूर्ण ढंगले सरकार र अर्थमन्त्रालयमाथि नियोजित प्रहार भइरहेको उनको भनाइ छ। वित्तीय अपराधमा संलग्न समूह र उनीहरूको संरक्षणमा रहेकाहरू नै अहिले सरकारलाई कमजोर बनाउन सक्रिय भइरहेको हुनसक्ने भन्दै उनले सबैलाई सतर्क रहन आग्रह गरे।
सुशासनको नारालाई कमजोर पार्ने खेल
बजेट र करका दरहरूलाई लिएर भइरहेका आलोचनाको खण्डन गर्दै अर्थमन्त्री वाग्लेले ती आरोपहरू पूर्णतः निराधार र ठोस प्रमाणविहीन रहेको बताए। “सुशासनको संकल्पका साथ अघि बढेको सरकारलाई बदनाम गराउन एउटै विषयलाई बारम्बार उचालेर हिलो छ्याप्ने प्रयास भइरहेको छ,” उनले भने, “सरकारको नियतमा कुनै खोट छैन। लगाइएका आरोपहरू प्रारम्भिक अवस्थामै (प्राइमा फेसि) खण्डित हुने खालका छन्।”
‘सेतो कपडामा हिलो छ्याप्ने प्रयास’
आफ्नो र सरकारको स्वच्छ छवि धमिल्याउन एउटा गिरोह नै लागेको आशंका व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले एक प्रतीकात्मक उदाहरण समेत दिए। उनले भने:
“सेतो कपडामा हिलो छ्यापेपछि जति धोए पनि केही न केही दाग बाँकी रहन सक्छ। नियत पूर्ण रूपमा ठीक हुँदाहुँदै पनि सरकारको छवि धुमिल बनोस् र सुशासनको अभियान कमजोर होस् भन्ने उद्देश्यले नै यस्ता भ्रमपूर्ण प्रचारबाजी गरिएका हुन्।”
धेरै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको बजेट ल्याएका कारण अत्तालिएका समूहहरूले नियोजित रूपमा अफवाह फैलाएको दाबी गर्दै अर्थमन्त्री वाग्लेले कुनै पनि खालका भ्रममा नपर्न अर्थसमितिका सदस्यहरू र आम नागरिकलाई स्पष्ट पारेका छन्।
प्रकाशित समय : १६:४१ बजे






















