दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्यो ३१ वर्षको सम्पत्ति कर
वि.सं.२०८१ माघ ४ शुक्रवार
काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ ।
संस्थानले गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम १ करोड २ लाख ८७ हजार ९ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो । संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा-सम्पत्ति कर बुझाएको महानगर २६ सचिव केदार रिमालले बताए ।
महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ । जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा-सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।
प्रमुख अधिकारीले भने, “पत्राचारपछि करदाताहरु सम्पर्कमा आउने क्रम सुरु भएको छ । यो सकारात्मक पक्ष हो । आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ ।” ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ ।
प्रकाशित समय : ११:३६ बजे





















