कर्मचारी सञ्चय कोषले सार्वजनीक गर्यो ‘जग्गा खरीद सापटी’
वि.सं.२०७८ मंसिर ५ आइतवार
काठमाडौँ। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई जग्गा किन्नका लागि कर्जा दिने भएको छ । कोषले नयाँ अवधारण तथा नीतिका साथ एक अलग्गै कार्यविधी बनाएर ‘जग्गा खरीद सापटी कर्जा’ योजना मार्फत कर्जा दिन लागेको हो ।
कोषमा कम्तिमा एक वर्ष वा त्यसभन्दा बढी अवधिसम्म नियमित रुपमा पैसा जम्मा गर्ने सञ्चयकर्तालाई यस्तो सापटी सुविधा दिने तयारी भएको कोषका अधिकारीहरुले जनाएका छन् ।
कर्मचारी सञ्चय कोषले अहिले सञ्ययकर्तालाई वार्षिक ६.५ प्रतिशत ब्याज दिइरहेको छ । कर्जा सापटीबापत कोषले सञ्चयकर्तासँग ६.५ देखि ८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । जबकी, बैंकहरुमा केही महिना अघिसम्म मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत र बचत निक्षेपको १ प्रतिशत हाराहारीमात्रै थियो ।
त्यतिबेलै १० प्रतिशत हाराहारी भएको ऋणको ब्याजदर अहिले १२ प्रतिशत नजिक पुगिसकेको छ । यस हिसाबले कर्मचारी सञ्चय कोषबाट लिने ऋणको भार निकै कम पर्छ ।
प्रकाशित समय : १५:४८ बजे





















