कोभिड अस्पतालमा भर्ना भएका विरामिले गरे आत्माहत्या

वि.सं.२०७८ वैशाख १८ शनिवार

बुटवल । रुपन्देहीमा कोभिड पोजेटिभ भएका एक संक्रमितले आत्माहत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।
उनलाई वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेका अनुसार शनिबार बिहान ४ बजे शौचालय जाने भनेर निस्कियका पछि झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’
पाण्डेले स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको बताए । तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

प्रकाशित समय : ०५:५८ बजे