रिलायबल लाइफको नाफामा सामान्य सुधार, अन्य अधिकांश सूचकहरु सन्तोषजनक

वि.सं.२०७८ साउन २७ बुधवार

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । आज सार्वजनीक गरेको वित्तीय विवरण अनुसार कम्पनीको समिक्षा अवधिमा वित्तीय उपलब्धि सन्तोषजनक नै देखिएको छ ।
प्रिमियमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको यस कम्पनीको समिक्षा अवधिमा खुद नाफा ५.३९ प्रतिशत बढेर २२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ४३ लाख रुपैयाँ मात्रै रहेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ८८ प्रतिशत बढेर २ अर्ब ९५ करोड गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन १ अर्ब ५७ करोड रुपैयाँ गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८८.०३ प्रतिशत बढेर ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको कुल कायम बीमालेख संख्या १०६.१० प्रतिशत बढेर ३६ लाख ९६ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा कुल कायम बीमालेख संख्या १७ लाख ५१ हजार थियो ।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी स्थिर रहेर १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोष ३१ प्रतिशत बढेर ८४ करोड ३५ लाख रुपैयाँ, जीवन बीमा कोष १२०.८९ प्रतिशत बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दिर्घकालिन कर्जा ११६.६५ प्रतिशत बढेर ३ अर्ब ९३ करोड रुपैयाँ गरेको छ । बीमालेख धितो कर्जा ४५६.५८ प्रतिशत बढेर ६ करोड २८ लाख रुपैयाँ दिएको छ ।
कम्पनीले गत असार मसान्तसम्म खुद दाबी भुक्तानी १२३.६३ प्रतिशत बढेर ६७ करोड ९८ लाख रुर्पयाँ गरेको छ । अभिकर्ता कमिसन पनि ६९.७८ प्रतिशत बढेर ४२ करोड ७६ लाख रुपैयाँ छ । कम्पनीको ८३ पैसा बढेर प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । कम्पनीको नेटवर्थ १६५ रुपैयाँ छ ।
२०७८ साउन २७ गते प्रकाशित

प्रकाशित समय : ०६:१९ बजे