अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

वि.सं.२०७८ साउन ४ सोमवार

ताप्लेजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङ गत आर्थिक वर्षमा जिल्लामा करिब डेढ अर्बको अलैँची बिक्रि भएको जनाएको छ । जोन कार्यालयका अनुसार लेताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट त्यहाँका किसानले गत एक अर्ब ३५ करोड आम्दानी लिएका हुन् ।
अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको कार्यालयले जानकारी गराएको हो ।
करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको त्यहाँका किसानले बताउँछन् ।
फुङ्लिङ नगरपालिकाका–११ वटै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा ६ मध्ये ६ वटै वडामा अलैँची उत्पादन हुँदै आएको अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।
मिक्वाखोला गाउँपालिकाका ५ वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ वटा वडामा अलैँची खेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् ।
मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच वटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैँची खेती गरिन्छ । जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको छ ।
२०७८ साउन ४ गते प्रकाशित

प्रकाशित समय : ०६:०९ बजे