उद्योगीहरु वर्षाै देखि विद्युत महसुल तिर्न आनाकानी,अर्बौं बक्यौता बाँकी
वि.सं.२०७८ साउन ३ आइतवार
काठमाडौँ । नेपालका चर्चित उद्योगीहरुले वर्षाै देखि विद्युत महसुल नतिरेको खुल्न आएको छ ।
अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स, पञ्चकन्या स्टिल प्रालि, विशाल सिमेन्ट उद्योग, गोयन्का फुड्स, शुभलक्ष्मी पोलिमर्स लगायतका चर्चित कम्पनीको अर्बाै बक्यौता बाँकी रहेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष पशुपति मुरारका लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको १ अर्ब ११ करोड रुपैयाँ विद्युत् महसुल वापतको बक्यौता बाँकी रहेको छ । चर्चित उद्यमी सिद्धार्थ गुरुपका निर्देशक जगदिश कुमार अग्रवाल, उद्योग वाणिज्य संघको कार्यकारी सदस्य तथा सिद्धार्थ गुरुपका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा केडिया अर्गनाइजेशन तथा सिद्धार्थ बैंकका अध्यक्ष समेत रहेका मनोज कुमार केडिया सञ्चालक रहेको सिमेन्टको विद्युत महशुल बक्यौता बाँकी रहेको हो ।
यस्तै यता चर्चित उद्योग जगदम्बा सिन्थेटिक्सले ४२ करोड ९८ लाख ८६ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ ।
यसैगरी पञ्चकन्या स्टिल प्रालिको ९ करोड ९७ लाख ४७ हजार ३९९, सिद्धार्थ पेट प्लास्टको ४ करोड ३५ लाख, विशाल सिमेन्ट उद्योगको ४ करोड २८ लाख, घराना फुड्सको ४ करोड १८ लाख ६ हजार २०१, एभरेष्ट रोलिङको तीन करोड ५९ लाख, एसआर फुड्स प्रालिको ३ करोड १० लाख २१ हजार बाँकी बक्यौता छ ।
गोयन्का फुड्सको दुई करोड ७७ लाख ६९ हजार, यशोदा फुड्स प्रालिको दुई करोड ५२ लाख तीन हजार, सोना प्याकेजिङको १ करोड ७० लाख, सोना पोलिमर्सको १ करोड ६२ लाख, फेरो स्टिल प्रालिको १ करोड ६ लाख रुपैयाँ बाँकी बक्यौता छ ।
यसैगरी शुभलक्ष्मी पोलिमर्सको ६८ लाख ३५ हजार, नवनेपाल प्लाष्टिकको ७५ लाख २४ हजार विद्युत् महसुल बक्यौता बाँकी छ । यसैगरी श्याम प्लाष्टिकको ८५ लाख नौ हजार, भलवारी स्वचालित चामल कारखानाको ५६ लाख ८६ हजार, एजी हेल्थ उद्योगको ४७ लाख १२ हजार, नेशनल रबर इन्डस्ट्रिजको १३ लाख ४१ हजार, जिबी टेक्सटाइल दुई उद्योगको ३८ लाख ९२ हजार, नारायण रबर उद्योगको ७ लाख ६७ हजार ५४७ र प्रिया प्याकेजिङको ६ लाख ८५ हजार ५२२ बाँकी बक्यौता रहेको छ ।
यति धेरै बक्यौता बाँकी रहँदा उद्यागीहरु भने प्राधिकरणको विपक्षमा उभिएका छन् । उद्योगीहरुले आफूहरुलाई जानकारी नै नदिई ट्रङ्क लाइनमा जोडिदिएर महसुल असुल्न थालेको आरोप लगाएर शक्ति केन्द्र धाउन थालेका हुन् ।
विद्युत् प्राधिकरणले भने भरौलिया अमुवा करिडोरका १५ उद्योगलाई २०७४ चैत १४ गते नै पत्र नै पठाएर जानकारी गराएको बताएको छ । भरौलिया अमुवा ग्रीडका १५ उद्योग विसं २०७४ चैत १४ गते, बुटवल भैरहवा ग्रिडका पाँच उद्योग २०७२ साउनदेखि र बुटवल लुम्बिनी ग्रिडका तीन उद्योग २०७२ साउनदेखि ट्रङ्कलाइनमा जोडिएका हुन् ।
यसअघि २०७७ चैत २२ गते बसेको प्रतिनिधसभा संसद्को सार्वजनिक लेखा समितिको बैठकले एक महिनाभित्र विद्युत् महसुल वापतको बक्यौता रकम असुल्न सरकार र प्राधिकरणलाई निर्देशन दिएको थियो ।
यसैगरी तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको अध्यक्षतामा बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको २०७७ माघ ११ गतेको बैठकले पनि बक्यौता रकम सबै असुल्ने निर्णय गरेको थियो ।
यस अघि गत असार ११ गते विद्युत् प्राधिकरणले असार मसान्तभित्र सबै बक्यौता रकम तिर्न उद्योगहरुलाई पत्र पठाएको थियो । उद्योगीहरु रकम तिर्नुको साटो विद्युत् प्राधिकरणमा डेलिगेशन तथा दबाब दिइरहेका छन् ।
यता उद्योगीले आफूहरुले ट्रङ्क लाइनका नाममा प्राधिकरणले कायम गरेको महसुल नतिर्ने भन्दै अटेर गर्दै आएकाबेला विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले विसं २०७७ साउनदेखि विद्युत् नियमन आयोगले लोडसेडिङ हटेको भन्दै डेडिकेटेड र ट्रङ्कलाइन भनी फरक महसुल दर कायमलाई हटाईएपछि सोही समय यताको ट्रङ्कलाइनको महसुल नजोडिएको बताएका छन् ।
सर्वसाधारणले विद्युत् महसुल ६० दिनभित्र नबुझाए लाइन नै काटिदिने विद्युत् प्राधिकरणले अर्बौं रकम बक्यौता बाँकी रहेका ती उद्योगलाई भनेचेतावनी मात्रै दिँदै आएको छ ।
यी उद्योगहरुको करिब पाँच बर्षदेखिको बक्यौता बाँकी रहेको देखिन्छ । उल्लेखित चर्चित कम्पनी सहित रुपन्देहीका २३ उद्योगको विद्युत् महसुल वापतको रकम बाँकी रहेको हो ।
२०७८ साउत ३ गते प्रकाशित
प्रकाशित समय : ०५:४१ बजे