कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन
वि.सं.२०८३ असार १० बुधवार
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र वार्षिक बजेट सार्वजनिक गरेको हो।
गाउँपालिकाले यस पटक कृषि, दिगो पर्यटन, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, दिगो पूर्वाधार विकास र संस्थागत सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर नयाँ रणनीतिक योजनाहरू अघि सारेको छ।
कृषि, पर्यटन र सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत
गाउँसभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष टासि लामाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको विस्तृत नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष लामाले पाँचपोखरीको रैथाने कृषि उत्पादनको प्रवर्द्धन, प्रसिद्ध पर्यटकीय गन्तव्यहरूको विकास, स्थानीय नागरिकको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार तथा स्थानीय सरकारको सेवा प्रवाहलाई प्रविधिमैत्री र सुशासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नागरिकको जीवनस्तर उकास्न र गाउँपालिकालाई आत्मनिर्भरतातर्फ लैजान यो नीति तथा कार्यक्रमले जग बसाल्ने उहाँको दाबी थियो।
आगामी वर्षका लागि रु ६२ करोड १७ लाख ९३ हजारको बजेट
अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीको अनुमतिमा पालिका प्रवक्ता नारायण भट्टराईले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु ६२ करोड १७ लाख ९३ हजार १ सय ५० बराबरको अनुमानित बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभयो।
प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र सन्तुलित विकास, स्थानीय सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि, लक्षित वर्गको उत्थान तथा रोजगारमूलक कार्यक्रमहरूलाई विशेष महत्त्व दिइएको छ। पालिकाले चालु खर्च र पूँजीगत खर्चको सन्तुलन मिलाउँदै नागरिकको दैनिक जीवनसँग जोडिएका योजनाहरूमा बजेट केन्द्रित गरेको जनाएको छ।
व्यापक छलफल र जनमुखी सुझाव संकलन
अधिवेशनको प्राविधिक तथा प्रशासनिक सत्रमा सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले विभिन्न प्रशासनिक निर्णयहरू, संशोधनका बुँदाहरू र महत्त्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो। सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि गाउँसभाका सदस्यहरूले सघन छलफल गरेका थिए। गाउँपालिकाको विकासलाई अझ बढी व्यावहारिक र जनमुखी बनाउन जनप्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण राय तथा सुझावहरू समेत प्रस्तुत गर्नुभएको थियो, जसलाई बजेटमा समावेश गरी थप परिष्कृत गरिने बताइएको छ।

समृद्धिको यात्रामा ‘कोशेढुङ्गा’ साबित हुने विश्वास
पाँचपोखरी थाङपाल गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको यो नीति, कार्यक्रम तथा बजेटले स्थानीय विकासको गतिलाई थप तीव्र बनाउने विश्वास व्यक्त गरिएको छ। गाउँपालिकाको समृद्धि, दिगो विकासको लक्ष्य प्राप्ति तथा स्थानीय नागरिकको लामो समयदेखिको अपेक्षा पूरा गर्न यो १९औँ गाउँसभा अधिवेशन र बजेट एउटा ऐतिहासिक कोशेढुङ्गा सावित हुने पालिका नेतृत्वले दाबी गरेको छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै सुशासन कायम गर्न पालिका प्रतिबद्ध रहेको सन्देश यस अधिवेशनले दिएको छ।
प्रकाशित समय : २२:०४ बजे






















