आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता

वि.सं.२०७८ असार २३ बुधवार

काठमाडौँ । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन् ।
सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पु¥याउन सफल हुने विश्वास व्यक्त गरे ।
प्रवन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताए ।
भर्चुअल माध्यमबाट संचालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडमा अहिले झन्डै ३५ हजार एजेण्ट रहेका छन् । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
२०७८ असार २३ गते प्रकाशित

प्रकाशित समय : १२:१० बजे