समृद्धि फाइनान्सको संस्थापक सेयर असार २९ बाट लिलामीमा बिक्रि खुला
वि.सं.२०७८ असार २२ मंगलवार
काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११.३५ लाख बढी कित्ता संस्थापक सेयर लिलाममा विक्रि खुला हुने भएको छ । गत असार ३ गतेदेखि असार १० गतेसम्म कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रदमध्ये आवेदन नपरेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर पुनः असार २९ गतेबाट लिलामीमा राख्न लागेको हो । यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केट लिमिटेड वा बैंक अफ काठमाडौँ शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको हेटौँडास्थित केन्द्रीय कार्यालय वा शाखाहरु पुतलीसडक, पोखरा र नारायणगढमा दिन सकिनेछ।
यो लिलामी सेयरमा साउन ५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।
२०७८ असार २२ गते प्रकाशित
प्रकाशित समय : ०६:२४ बजे