संसदको हिउँदे अधिवेशनबाटै एनआरएन नागरिकता कार्यान्वयन
वि.सं.२०८१ पुस २४ बुधवार
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले संसदको आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताए ।
उनले भने, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’
यसअघि संघका अध्यक्ष डा. बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको समाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नगारिकता प्रदान गरिसकिएको बताएका थिए ।
त्यसको कार्यान्वयन नभएकोले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानुनी प्रक्रिया अघि बढाईदिन उनले अनुरोध गरेका छन् ।
प्रकाशित समय : १७:४६ बजे





















