चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग गर्ने, सम्झौता पत्रमा अरु के के छ?
नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर
वि.सं.२०७८ चैत १३ आइतवार
काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सिंहदरवारमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिको सभागितामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।
वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका थिए ।
सम्झौता पत्रमा अरु के के छ?
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपाल-चीन अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल-चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययन गर्ने समति भएको हो। त्यस्तै नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप सम्झौता सम्बन्धमा सहमति भएको हो।
त्यस्तै चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसअघि परराष्ट्रमन्त्री खड्का र वाङबीच ‘वान टु वान’ वार्ता भएको थियो। भेटवार्तामा दुई देशको हित सम्बन्धमा कुराकानी भएको बताइएको छ।
सिंहदरवारमा आयोजित द्विपक्षीय वार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। शिष्टाचार भेटवार्तापछि कास्कीको पोखरामा निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो।

भर्चुअल समारोशबीच चिनियाँ ऋण लगानीमा बनेको विमानस्थलको साँचो विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री खड्कालाई प्रदान गरेका थिए। ९३ प्रतिशत काममात्र सकेको विमानस्थल हस्तान्तरण गरेको भन्दै चिनियाँ प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन्। यता पर्यटन मन्त्रालयका अधिकारीहरुले पनि असन्तुष्टि पोखेको बताइएको छ।
प्रकाशित समय : ११:३९ बजे





















