कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो
वि.सं.२०८३ साउन ४ सोमवार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको करिब ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो। बैंकको व्यवसाय विस्तार तथा इम्पेयरमेन्ट चार्जमा आएको कमीले नाफा वृद्धिमा सकारात्मक प्रभाव परेको देखिएको छ।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्ष २ अर्ब ३१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी २ अर्ब ७० करोड रुपैयाँबाट २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
यस्तै, सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढ्दै १ अर्ब ४ करोड रुपैयाँबाट १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। बैंकको वित्तीय अवस्था बलियो देखिए पनि निष्क्रिय कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा ३.७७ प्रतिशत पुगेको छ। अर्थतन्त्रमा आएको सुस्तताका कारण कर्जा असुलीमा केही चुनौती देखिएको बैंकले जनाएको छ।
वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ५५ करोड रुपैयाँभन्दा बढी रहेको छ। यही रकमका आधारमा बैंकले आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण गर्ने क्षमता निर्धारण गर्नेछ।
प्रकाशित समय : १५:१० बजे





















