अटो शोमा बीवाइडीको तयारी : अपग्रेडेड एटो ३ सार्वजनिक, अरु के-के छन् ?
वि.सं.२०८३ साउन २१ बिहीवार
काठमाडौं । नेपालमा सर्वाधिक विद्युतीय कार बिक्री गर्ने ब्रान्ड बीवाइडीले आगामी अटो शोहरूलाई लक्षित गर्दै आफ्ना लोकप्रिय मोडलहरू अपग्रेड गर्ने तयारी गरेको छ। बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले Atto 3, Atto 1 र Atto 2 मा विभिन्न परिमार्जनसहित नयाँ संस्करण बजारमा ल्याउने तयारी गरेको हो।
साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले २०२६ BYD Atto 3 सार्वजनिक गर्ने भएको छ। कम्पनीले नयाँ मोडलमा गरिएका परिवर्तनबारे विस्तृत जानकारी सार्वजनिक नगरे पनि डिजाइन, फिचर र प्रयोग अनुभवमा सुधार गरिएको अपग्रेडेड संस्करण प्रदर्शनीमार्फत सार्वजनिक हुने जनाएको छ।
साइमेक्स स्रोतका अनुसार बजारको माग र प्रतिस्पर्धालाई ध्यानमा राखेर नयाँ संस्करण ल्याउन लागिएको हो।
“बजारको आवश्यकता अनुसार अपग्रेड भएका मोडल ल्याउने योजना हो। त्यसमा सर्वाधिक सफल Atto 3 नछुट्ने बताएको छ । केही परिमार्जनसहित Atto 3 नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुनेछ,” कम्पनी स्रोतले जनाएको छ।
त्यसैगरी, कम्पनीले Atto 1 मा पनि केही महत्वपूर्ण सुधार गर्दै बजारमा ल्याउने तयारी गरेको छ। नयाँ संस्करणमा केही आवश्यक फिचर थपिनुका साथै ड्यासबोर्डको डिजाइन र लेआउटमा पनि परिमार्जन गरिने बताइएको छ।
उता Atto 2 लाई भने आगामी नाडा अटो शो सम्ममा अपडेट गर्ने योजना रहेको छ। हाल ५१ किलोवाट-आवर ब्याट्रीमा उपलब्ध रहेको यो मोडल अब ४५ किलोवाट-आवर क्षमताको नयाँ ब्याट्री विकल्प सहित पनि ल्याउने तयारी भइरहेको स्रोतको दाबी छ।
सानो ब्याट्री प्याक उपलब्ध भएपछि Atto 2 को नयाँ भेरियन्टको मूल्य हालको मोडलभन्दा कम हुने अपेक्षा गरिएको छ। यसले बीवाइडीलाई मध्यम मूल्य वर्गका ग्राहकसम्म थप प्रभावकारी रूपमा पुग्न सहयोग गर्ने विश्वास कम्पनीको छ।
एकैपटक तीन लोकप्रिय मोडलमा सुधार गरेर बजारमा उतार्ने तयारीले बीवाइडीले नेपालको बढ्दो ईभी बजारमा आफ्नो अग्रस्थान अझ मजबुत बनाउने रणनीति लिएको देखिन्छ। नयाँ फिचर, थप विकल्प र प्रतिस्पर्धी मूल्यमार्फत कम्पनीले आगामी अटो शोहरूलाई बिक्री विस्तारको प्रमुख अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ।
प्रकाशित समय : १४:०५ बजे





















