डोङफेङको ‘नामी ०१’ नेपाल ल्याउँदै एमएडब्लू वृद्धि अटोकर्प, के के छन् विशेषता ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रालि चिनियाँ सवारी उत्पादक समूह डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको छ ।
आधिकारिक वितरक बनेसँगै एमएडब्लूले कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन ‘नामी ०१’ विद्युतीय कार नेपाली बजारमा भित्र्याउने भएको छ ।
प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०र१८१०१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ ।
यसमा भएका सेगमेन्ट फर्स्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्यभन्दा फरक देखाएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार पाँच जना आरामले बस्न मिल्ने यो कार ७ रङमा उपलब्ध छ । जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको र त्यसमा मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट उपलब्ध छ ।
४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक भएको नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
एमएडब्लु वृद्धि एमएडब्लु ग्रुप अन्तर्गतको कम्पनी हो । एमएडब्लु ग्रुपअन्तर्गत चांगान, फोटोन, सेरेस, जेसीबी, स्कोडा, जिप, आइसर, यामाहा लगायत कमर्सियल र प्यासेन्जर सेगमेन्टका २० भन्दा बढी ब्रान्ड उपलब्ध छन् ।

प्रकाशित समय : ०९:१२ बजे