नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता
वि.सं.२०८३ साउन १४ बिहीवार
काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको नयाँ फेसलिफ्ट संस्करण नेपाली बजारमा भित्रिएको छ। टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ मोडल नेपाल ल्याएको हो। कम्पनीले केही दिनभित्रै यसको मूल्य सार्वजनिक गर्दै बिक्री सुरु गर्ने तयारी गरेको जनाएको छ।
नयाँ पन्च ईभीमा बाहिरी डिजाइन, ब्याट्री क्षमता, चार्जिङ प्रविधि तथा इन्टेरियरमा उल्लेखनीय सुधार गरिएको छ। अगाडिको भागमा नयाँ बम्पर, परिमार्जित डिजाइन र कनेक्टेड स्टाइललाई थप आकर्षक बनाइएको छ। यसअघि रहेको कालो ट्रिम हटाइएको छ भने वाई–आकारका एलईडी डीआरएल र बीचमा रहेको चार्जिङ पोर्टलाई यथावत् राखिएको छ। पछाडितर्फ कनेक्टेड एलईडी टेललाइटले यसको आधुनिक स्वरूपलाई अझ निखारेको छ।
फेसलिफ्ट संस्करणमा अब ३० किलोवाट–घण्टा र ४० किलोवाट–घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध हुनेछन्। अघिल्लो मोडलमा क्रमशः २५ र ३५ किलोवाट–घण्टाको ब्याट्री रहेको थियो। यससँगै नयाँ पन्च ईभीले ६५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले चार्जिङ समय पनि कम हुने अपेक्षा गरिएको छ।
इन्टेरियरतर्फ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.२५ इन्चकै इन्फोटेनमेन्ट टचस्क्रिन, नयाँ डुअल–टोन केबिन, १६ इन्चका एरो–डिजाइन अलोय ह्विल, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा जस्ता सुविधा भेरियन्टअनुसार उपलब्ध हुनेछन्।
सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाई बिम असिस्ट जस्ता फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
भारतमा नयाँ पन्च ईभी ३० र ४० किलोवाट–घण्टा ब्याट्रीका विभिन्न भेरियन्टमा बिक्री भइरहेको भए पनि नेपालमा कुन–कुन भेरियन्ट उपलब्ध हुनेछन् भन्नेबारे सिप्रदी ट्रेडिङले अझै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। कम्पनीले भने नयाँ पन्च ईभीको बिक्री छिट्टै सुरु गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित समय : १९:२५ बजे





















