back

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

नेपालमा सहकारी अभियानको सुरुवात वि.सं. २०१० मा चितवनको ‘बखान’ गाउँबाट भएको हो ।

उपभोक्ता सहकारीको अवधारणा सामाजिक, आर्थिक र नैतिक मूल्यमा आधारित सामूहिक प्रयास हो जसले बजारको अनिश्चितता, मूल्यवृद्धि र मुनाफामुखी प्रवृत्तिबाट उपभोक्तालाई सुरक्षित राख्ने उद्देश्य बोकेको हुन्छ । समाजमा वस्तु तथा सेवाको पहुँच सुनिश्चित गर्नु, गुणस्तरीय आपूर्ति प्रणाली निर्माण गर्नु र आर्थिक समानता कायम गर्नु यसको मुख्य उद्देश्य हो । परम्परागत बजार प्रणालीमा उपभोक्ताको भूमिका केवल सेवा उपभोगमा सीमित हुन्छ भने सहकारीमा उनीहरू उत्पादन, वितरण र निर्णय प्रक्रियामा समेत सहभागी तथा मालिक हुन्छन्। यही विशेषताले उपभोक्ता सहकारीलाई विशिष्ट र सशक्त बनाएको छ ।

सन् १८४४ मा बेलायतको राचडेल सहरमा २८ जना श्रमिकले स्थापना गरेको ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायनियर्स’लाई विश्वको पहिलो सफल उपभोक्ता सहकारी मानिन्छ । उक्त सहकारीले केवल वस्तु विक्री मात्र होइन, सामूहिक स्वामित्व र लोकतान्त्रिक निर्णय प्रक्रियामार्फत सहकारी सिद्धान्तको अभ्यास गर्‍यो । बेलायतको औद्योगिक क्रान्तिपछि उत्पन्न सामाजिक आर्थिक असमानता, श्रमिक शोषण र खाद्य अभावको सन्दर्भमा उक्त सहकारीले श्रमिक समुदायलाई गुणस्तरीय तथा सस्तो खाद्य सामग्री उपलब्ध गराई नयाँ आर्थिक मोडेलको थालनी गर्‍यो ।

उपभोक्ता सहकारीको कार्यप्रणाली अत्यन्त व्यावहारिक र समुदाय केन्द्रित हुन्छ । सदस्यहरूले साझा पूँजी योगदान गर्छन् र सो पूँजीको आधारमा थोक विक्रेताबाट सस्तोमा सामान खरिद गरिन्छ । पछि त्यही सामान न्यूनतम सेवा शुल्कका साथ सदस्यहरूलाई उपलब्ध गराइन्छ । बजारको तुलनामा मूल्य सस्तो हुनु मिसावटरहित वस्तु पाउनु, पारदर्शिता कायम हुनु र लाभांशमा समान पहुँच हुनु सहकारीको विशेषता हो । व्यवस्थापन पक्ष निर्वाचित सञ्चालक समितिले हेर्छ जसले समग्र सञ्चालन र नीति निर्धारण गर्छ । कुनै पनि निर्णय साझा मतबाट लिइन्छ जसले लोकतान्त्रिक अभ्यासलाई संस्थागत बनाउँछ ।

नेपालमा सहकारी अभियानको सुरुवात वि.सं. २०१० मा चितवनको ‘बखान’ गाउँबाट भएको हो । प्रारम्भमा कृषि सहकारीको रूपमा सुरु भए पनि पछि उपभोक्ता सहकारीको अवधारणाले पनि महत्त्व पाउन थाल्यो । सहकारी ऐन २०७४ अनुसार कम्तीमा ३० जनाको समूहले उपभोक्ता सहकारी खोल्न सक्ने व्यवस्था छ । सहकारी विभागको तथ्याङ्क अनुसार हाल नेपालमा ३५ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् जसमध्ये ठुलो हिस्सा उपभोक्ता सहकारीहरू रहेका छन् । यी संस्थाहरूले खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, शिक्षा सामग्री, निर्माण सामग्री, घरभाडा सेवा आदि दैनिक जीवनसँग सम्बन्धित वस्तु तथा सेवा उपलब्ध गराइरहेका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित पार्क स्लोप फुड कुप सहकारीमा १६ हजार सदस्य छन् जसमा सदस्यहरूले स्वयंसेवक सेवा गर्दै बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा सामान किन्न सक्छन् ।

जापान, अमेरिका, क्यानडा, कोरिया, भारतजस्ता देशहरूमा उपभोक्ता सहकारी प्रभावकारी रूपमा सञ्चालनमा छन् । जापानको कोबे कन्ज्युमर को अपमा १७ लाखभन्दा बढी सदस्य छन् जसले खाद्य आपूर्ति, स्वास्थ्य सेवा, पुनर्चक्रण कार्यक्रम, कृषि उत्पादनको खरिद वितरण लगायत विविध सेवा प्रदान गर्छ । अमेरिकाको न्यूयोर्कस्थित पार्क स्लोप फुड कुप सहकारीमा १६ हजार सदस्य छन् जसमा सदस्यहरूले स्वयंसेवक सेवा गर्दै बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा सामान किन्न सक्छन् । भारतको अमूल सहकारीले दूध उत्पादन तथा वितरणमा विश्वमै उदाहरणीय मोडेल स्थापित गरेको छ ।

नेपालमा पनि उपभोक्ता सहकारीले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । केही सहकारीले थोक मूल्यमा खाद्यान्न खरिद गरी सदस्यहरूलाई वितरण गर्छन् भने केहीले स्थानीय कृषकहरूसँग सहकार्य गरी ताजा तरकारी, अन्न तथा फलफूलको आपूर्ति गर्छन् । यसले उत्पादनकर्ता र उपभोक्ता बीचको दूरी घटाइदिएको छ । कृषि उपजलाई उचित मूल्यमा बजार दिलाउने र उपभोक्तालाई सस्तो मूल्यमा आपूर्ति गराउने उद्देश्यले सहकारीले दुवै पक्षको हित संरक्षण गरेको देखिन्छ ।

सहकारीमा सबै सदस्यको बराबरी मताधिकार हुन्छ चाहे पूँजीको अंश जति भए पनि ।

सहकारी प्रणालीले समाजमा आर्थिक समानता स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले गरिब तथा निम्न आय भएका वर्गहरूलाई समेत गुणस्तरीय सेवा उपलब्ध गराउने माध्यम बनेको छ । सहकारीमा सबै सदस्यको बराबरी मताधिकार हुन्छ चाहे पूँजीको अंश जति भए पनि । यसले वर्गीय विभेदलाई हटाउँदै समानतामा आधारित सहभागिता सुनिश्चित गर्छ । महिलाको प्रतिनिधित्व, युवाको संलग्नता र ग्रामीण जनताको सक्रियता सहकारी प्रणालीमार्फत अभिवृद्धि भएको पाइन्छ । यसले लिङ्ग समानता र सामाजिक समावेशितालाई पनि टेवा दिएको छ ।

दिगो विकासको सन्दर्भमा उपभोक्ता सहकारीले जलवायु मैत्री आपूर्ति प्रणाली, स्थानीय उत्पादन प्रवर्द्धन, पुनःप्रयोग तथा पुनर्चक्रण प्रविधिको उपयोग, जैविक खेती र साना उद्यमको विकास जस्ता कार्यहरूमा उल्लेखनीय योगदान दिएका छन् । संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरू (SDGs) सँग सहकारीको कार्यधारा प्रत्यक्ष मेल खान्छ । गरिबी उन्मूलन, भोकमरी न्यूनीकरण, स्वच्छ उत्पादन, समतामूलक समाज निर्माण, संस्थागत सुदृढीकरण र समावेशी आर्थिक वृद्धिमा उपभोक्ता सहकारी प्रभावकारी मोडेल बन्न सक्ने सम्भावना बोकेको छ ।

यद्यपि नेपालमा उपभोक्ता सहकारीले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । केही सहकारी संस्थाहरूमा पारदर्शिताको कमी, व्यक्तिगत स्वार्थपूर्तिको दुरुपयोग र अनियमितता देखिन्छ । सञ्चालक समितिमा राजनीतिक भागबन्डा, अपारदर्शी कारोबार, नाफामुखी प्रवृत्तिले सहकारी सिद्धान्तमाथि नै प्रश्न उठाएको छ । धेरै सहकारी संस्थामा लेखापरीक्षण हुँदैन, वार्षिक प्रतिवेदन सार्वजनिक गरिँदैन र सदस्यलाई जानकारीसमेत दिइँदैन । यस्ता प्रवृत्तिले सहकारीप्रति विश्वासमा आँच पुर्‍याएको छ । ग्रामीण क्षेत्रका सहकारीहरूमा दक्ष जनशक्तिको अभाव, तालिमको कमी र प्रविधिको प्रयोग नभएकाले कार्यक्षमता पनि कमजोर भएको देखिन्छ ।

यी समस्या समाधान गर्न सहकारीहरूको पुनःसंरचना अपरिहार्य छ । सबै सदस्यलाई सहकारी शिक्षाको पहुँच सुनिश्चित गरिनुपर्छ । सञ्चालक समिति तथा कर्मचारीका लागि व्यवस्थापन र वित्तीय तालिम अनिवार्य गरिनुपर्छ । लेखापरीक्षण तथा प्रतिवेदन सार्वजनिकता कानुनी रूपमा अनिवार्य गरिनुपर्छ । सूचना प्रविधिको अधिकतम उपयोग गर्दै अनलाइन लेखा प्रणाली, डिजिटल कारोबार र सदस्य सहभागिता प्रणाली विकास गर्नुपर्छ । सहकारीका मूल्य, सिद्धान्त र आचरण व्यवहारमा उतार्ने संयन्त्र निर्माण गर्न सके मात्र सहकारीप्रति जनविश्वास कायम रहन सक्छ ।

साथै, सहकारीको आन्तरिक संरचनालाई सुदृढ गर्दै यसलाई सरकारी नीति तथा योजनासँग जोड्न सकिन्छ । खाद्य आपूर्ति, कृषि वितरण, आवास, नवीकरणीय ऊर्जा, स्थानीय रोजगारीजस्ता क्षेत्रमा सहकारीलाई प्राथमिकताका साथ विकास गर्नुपर्छ । सहकारी नीतिमा अनुदानभन्दा उत्पादनशील लगानीलाई प्राथमिकता दिनुपर्छ । सहकारीबीच आपसी सहकार्य, साझा बजार, वितरण केन्द्र तथा आपूर्ति प्रणालीको विकास गर्न सके दिगो, समावेशी र स्थानीय अर्थतन्त्रको निर्माण सम्भव हुनेछ ।

उपभोक्ता सहकारी केवल सस्तो मूल्यमा वस्तु किन्ने संस्था होइन यो सामूहिक स्वामित्व, सामाजिक उत्तरदायित्व र समतामूलक सेवामा आधारित वैकल्पिक आर्थिक मोडेल हो । बजारको मुनाफामुखी प्रवृत्तिबाट पीडित समाजमा सहकारीले विकल्प प्रस्तुत गर्छ । विशेषतः विकासोन्मुख मुलुकहरूमा सहकारीले सामाजिक असमानता न्यूनीकरण, रोजगारी सिर्जना, गरिबी निवारण, उपभोक्ताको सुरक्षा र स्थानीय उत्पादन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको छ ।

नेपालको सन्दर्भमा सहकारी अभियानलाई जन अभियानको रूपमा विस्तार गर्न सक्ने हो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य व्यवहारमा उतार्न सकिन्छ । यसको लागि राज्य, समुदाय, नीति–निर्माता, उपभोक्ता र सञ्चालक सबैको साझा उत्तरदायित्व आवश्यक छ । सहकारी केवल आर्थिक संस्था होइन, यो सामाजिक आन्दोलन हो, जहाँ प्रत्येक सदस्य बराबरीको आधारमा संलग्न हुन्छ, निर्णय गर्छ र लाभ लिन्छ ।

त्यसैले उपभोक्ता सहकारीको अभियानलाई केवल सहुलियतमा सामान किन्ने अवसरका रूपमा होइन, साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा बुझ्न आवश्यक छ । राचडेलका श्रमिकहरूले सुरु गरेको त्यो आन्दोलन आज नेपालका गाउँ–सहरसम्म फैलिएको छ । अब त्यसलाई प्रणाली, नीति, नेतृत्व र मूल्यमा आधारित बनाउँदै दिगो विकासको आधार बनाउनु आजको आवश्यकता हो ।

gaugauma singhadarbar

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?

वि.सं.२०८२ माघ १ बिहीवार १०:५५

काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो...

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

माघे संक्रान्तिले बढायो तरुलको कारोबार,यो हप्तामात्रै ९०० टन तरुल बजारमा भित्रियो

वि.सं.२०८२ पुस ३० बुधवार १०:४७

काठमाडौं । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार...

वित्तिय क्षेत्रको संकटमा राष्ट्र बैंंक कति जिम्मेवार ?

वित्तिय क्षेत्रको संकटमा राष्ट्र बैंंक कति जिम्मेवार ?

वि.सं.२०८२ पुस ३० बुधवार १०:३६

नेपालको बैंक तथा वित्तिय क्षेत्र अहिले विभिन्न खाले समस्या र...

गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

वि.सं.२०८२ पुस २३ बुधवार १०:२६

रौतहट । विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित...

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै पैंचो पसल, मनायो ११ र्औं वार्षिकोत्सव

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै पैंचो पसल, मनायो ११ र्औं वार्षिकोत्सव

वि.सं.२०८२ पुस १५ मंगलवार १८:१०

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको...

च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन : मन्त्री परियार

च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन : मन्त्री परियार

वि.सं.२०८२ पुस १५ मंगलवार १७:१५

काठमाडौं । कृषि तथा पसुपंछी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ...