सिद्धार्थ बैंकको कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने
वि.सं.२०८३ भदौ ४ बिहीवार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनबाटै खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक यस्तो सेवा सुरु गरिएको हो। अब नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै आवश्यक विवरण र कागजात पेश गरी खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।
यस सेवाले ग्राहकको समय बचत गर्नुका साथै खाता खोल्ने प्रक्रियालाई सहज, सरल र प्रविधिमैत्री बनाउने बैंकको विश्वास छ। तर खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफ्नो नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।
बैंकले डिजिटल सेवामार्फत व्यवसायिक तथा संस्थागत ग्राहकलाई बैंकिङ सेवामा थप सहज पहुँच पुग्ने जनाएको छ। यस सेवाबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ।
प्रकाशित समय : १५:५६ बजे





















