यामाहाको नयाँ स्पोर्ट्स मोटोसाइकल आर २ आगामी साता भारतमा सार्वजनिक हुँदै
वि.सं.२०८३ भदौ ४ बिहीवार
काठमाडौं। यामाहाको चर्चित आर सिरिज अन्तर्गत भारतमा निर्माण भएको नयाँ आर २ मोटोसाइकल अर्को साता औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। कम्पनीले नयाँ यामाहा आर २ आगामी अगस्ट २७ मा लन्च गर्ने तयारी पूरा गरेको हो। हाल भारतीय बजारमा यसको आधिकारिक प्रि-बुकिङसमेत खुला भइसकेको छ, जहाँ इच्छुक ग्राहकले १० हजार भारतीय रुपैयाँ टोकन रकम तिरेर बाइक बुक गर्न सक्नेछन्।
यद्यपि कम्पनीले मोटोसाइकलको नाम आर २ नै हो भनेर अहिलेसम्म औपचारिक घोषणा गरेको छैन। तर यामाहाद्वारा जारी गरिएका पछिल्ला टिजर भिडियोहरू र भारतीय मिडिया रिपोर्टका आधारमा यो नयाँ मोडल आर २ नै रहेको पुष्टिप्रायः भएको छ। यामाहाको आधिकारिक बुकिङ पेजमा २७ अगस्ट २०२६ लाई प्रस्तावित लन्च मिति तोकिएको छ। लन्चअघि प्रि-बुकिङ गर्ने ग्राहकलाई प्राथमिकताका आधारमा गाडी डेलिभरी दिइनेछ।
हालसम्म कम्पनीले आर २ को पूर्ण प्राविधिक विवरण गोप्य नै राखेको छ। विभिन्न सवारी साधन सम्बन्धी रिपोर्टहरूका अनुसार यसमा २०० देखि २२० सीसी क्षमताको लिक्विड-कुल्ड सिंगल-सिलिन्डर इन्जिन प्रयोग हुने अनुमान छ। यो इन्जिनले करिब २५ पीएससम्मको अधिकतम पावर उत्पादन गर्ने अपेक्षा गरिएको छ। यसका साथै यामाहाले आफ्नो बहुचर्चित भेरियबल भल्भ एक्चुएसन (भीभीए) प्रविधि पनि आर २ मा समावेश गर्नेछ। भीभीए प्रविधिले उच्च आरपीएममा उत्कृष्ट राइडिङ पर्फर्मेन्स दिनुका साथै दैनिक प्रयोगमा आवश्यक टर्क र सहजता कायम राख्न मद्दत पुर्याउँछ।
आर १५ र आर थ्री मोटोसाइकलको बिचमा मिड-स्पेक मोडलका रूपमा भित्रिन लागेको यो बाइक यामाहाको नयाँ प्लेटफर्ममा आधारित छ। यसको धेरैजसो आधारभूत संरचना तथा डिजाइन आर १५ भीफोरबाट लिइएको छ। यसमा डेल्टाबक्स फ्रेम, यूएसडी फ्रन्ट फोर्क, रियर मोनोशक र डुअल च्यानल एबीएस जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू समावेश हुनेछन्।
आर १५ भीफोरको तुलनामा नयाँ आर २ मा थप प्रिमियम इलेक्ट्रोनिक फिचरहरू थपिने चर्चा छ। जसमा ट्रयाक्सन कन्ट्रोल, क्विकशिफ्टर, असिस्ट एण्ड स्लिपर क्लच, फुल कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल र यामाहा वाइ-कनेक्ट जस्ता आधुनिक कनेक्टिभिटी प्रविधि उपलब्ध हुनेछन्। भारतमा लन्च भएसँगै नेपाली बजारमा पनि यसको आगमनलाई चासोका साथ हेरिएको छ।
प्रकाशित समय : १६:१६ बजे






















