गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवन बालुवाटारबाट सञ्चालन, निक्षेप १ खर्ब र चुक्ता पुँजी ६ अर्ब नाघ्यो
वि.सं.२०८३ भदौ ३ बुधवार
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको बालुवाटारमा निर्माण गरिएको आफ्नै आधुनिक भवनबाट केन्द्रीय कार्यालयको औपचारिक सञ्चालन सुरु गरेको छ।
बुधबार आयोजित विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उक्त नयाँ भवनको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको औपचारिक समापन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले गर्नुभएको थियो। यसअघि बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा रहेको भाडाको भवनबाट सञ्चालित हुँदै आएकोमा अब आफ्नै सुविधासम्पन्न भवनमा स्थानान्तरण भएको हो।
वि.सं. २०६४ सालमा स्याङ्जाको वालिङबाट केवल ९ जनाको सहभागिता र २ करोड ६४ लाख रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको गरिमा विकास बैंकले आफ्नो व्यावसायिक यात्रामा उल्लेख्य सफलता हासिल गरेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको मर्जर र प्राप्ति प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्दै बैंकले हिमाल, पहाड र तराईसम्म सेवा विस्तार गरी राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएको छ। हाल बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप संकलन १ खर्ब रुपैयाँ नाघेको छ।
उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले निक्षेप रकमलाई केवल वित्तीय आँकडा मात्र नभई ग्राहकहरूको प्रगाढ विश्वासका रूपमा लिनुपर्ने बताउनुभयो। “निक्षेपकर्ताले बैंकमा आफ्नो धनसँगै ठूलो भरोसा पनि राखेका हुन्छन्, जसको रक्षा गर्नु हाम्रो प्राथमिक दायित्व हो,” उहाँले उल्लेख गर्नुभयो। हाल बैंकले देशका ३७ जिल्लामा १२६ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ जहाँ १ हजार ५२ जना कर्मचारी कार्यरत छन् भने बैंकका सेयरधनीको संख्या करिब एक लाख पुगेको छ।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बैंकलाई उत्तररोत्तर प्रगतिको शुभकामना दिँदै आम सेयरधनी, सेवाग्राही र निक्षेपकर्ताको हितलाई सधैँ केन्द्रमा राखेर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो। बैंकका अध्यक्ष दिलीप खड्काले ग्राहक र सेयरधनीको विश्वास नै संस्थाको मुख्य स्तम्भ रहेको बताउँदै आगामी दिनमा उच्च संस्थागत सुशासन, पारदर्शिता, सकारात्मक सोच र बलियो टिम स्प्रिटका साथ बैंकलाई थप सशक्त र प्रविधिमैत्री बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रकाशित समय : १६:१५ बजे






















