नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता
वि.सं.२०८३ भदौ ३ बुधवार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो ‘नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। कम्पनीले ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहने कम्पनीले जनाएको छ।
‘Protecting Every Risk, Celebrating Every Goal’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति चेतना बढाउनु रहेको कम्पनीले जनाएको छ। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्ष आयोजित पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको भन्दै कम्पनीले यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण बीमा तथा पुनर्बीमा कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरेको छ।
कम्पनीले फुटसल प्रतियोगितालाई बीमा क्षेत्रका कर्मचारीबीच सम्बन्ध विस्तार, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।
प्रकाशित समय : १६:३८ बजे






















