उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा
वि.सं.२०८३ वैशाख १७ बिहीवार
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रक्रिया अघि बढाउन आगामी जेठ १० गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ।
बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सुरु हुने उक्त सभाले हकप्रद शेयर निष्काशनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभाले हकप्रद शेयरका अतिरिक्त अन्य उपयुक्त लघुवित्त संस्थाहरूसँग मर्जर वा एक्विजिशन (प्राप्ति) सम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र लेखापरीक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरूमाथि छलफल गरी निर्णय लिनेछ। साथै, सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकहरूको कार्यकालको अनुमोदन पनि सभाले गर्नेछ।
बुकक्लोज र शेयरधनी योग्यता
साधारण सभा प्रयोजनका लागि लघुवित्तले आगामी बैशाख ३० गते ‘बुकक्लोज’ गर्ने निर्णय गरेको छ। यसको अर्थ, बैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस साधारण सभामा भाग लिन र मतदान गर्न पाउनेछन्।
प्रकाशित समय : १३:४६ बजे





















