काठमाडौँ महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)
वि.सं.२०८३ जेठ ३१ आइतवार
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ। २०८३ जेठ ३१ गते आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औं अधिवेशनमा “सांस्कृतिक सहर, समृद्ध महानगर” को नारासहित उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ का अधुरा बहुवर्षीय योजनाहरू र काठमाडौँवासीको बदलिँदो आकांक्षालाई सम्बोधन गर्ने गरी महानगरले सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सँस्कृति संरक्षणमा केन्द्रित नयाँ नीतिहरू अघि सारेको छ।
सार्वजनिक नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू यसप्रकार छन्।
१. सुशासन, प्रशासनिक सुधार र यातायात
एकद्वार सेवा र इन्टर्नसिप: महानगर र सबै वडा कार्यालयहरूमा ‘एकद्वार सेवा केन्द्र’ लाई प्रभावकारी बनाइनेछ। विश्वविद्यालयका विद्यार्थीहरूका लागि “Earn While You Learn” (पढ्दै कमाउँदै) अवधारणा अन्तर्गत इन्टर्नसिप र पार्ट-टाइम इन्गेजमेन्ट कार्यक्रम ल्याइनेछ।
बहुतले पार्किङको पहल: नयाँसडक क्षेत्रको पार्किङ समस्या समाधान गर्न नेपाल वायु सेवा निगमको गेटस्थित घरजग्गालाई बहुतले पार्किङका रूपमा उपयोग गर्न नेपाल सरकारमार्फत पहल गरिनेछ।
सार्वजनिक यातायात र रात्रिकालीन सेवा: साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन यातायात सेवालाई क्रमशः विस्तार गरिनेछ।
२. शिक्षा, युवा तथा खेलकुद
विशेष र वैकल्पिक विद्यालय:अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय तथा गृहणी र ज्येष्ठ नागरिकका लागि वैकल्पिक विद्यालय स्थापना गरिनेछ।
सिर्जनात्मक शुक्रबार (Creative Friday): विद्यार्थीहरूको सृजनशील सिकाइका लागि विद्यालयहरूमा पाठ्यपुस्तकमिति बाहेक सीपमूलक तालिम र STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) मा आधारित गतिविधि सञ्चालन गरिनेछ।
स्वनिगः विश्वविद्यालय: भाषा, संस्कृति, सम्पदा र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न महानगर आफैँले ‘स्वनिगः विश्वविद्यालय’ स्थापना गर्न नेपाल सरकारसँग समन्वय गर्नेछ।
३. सुलभ स्वास्थ्य सेवा र सामाजिक सुरक्षा
महानगर अस्पताल र बाइक एम्बुलेन्स: महानगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा दिन ‘महानगर अस्पताल’ निर्माण गरिनेछ। साँघुरा सडकहरूलाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवाका साथै ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइनेछ।
जेष्ठ नागरिकलाई पोषण भत्ता र खोप:७५ वर्ष पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएकाहरूलाई पोषण भत्ता उपलब्ध गराइनेछ भने ज्येष्ठ नागरिकका लागि निमोनियाको खोप सेवा दिइनेछ।
अस्पतालहरूमा १०% निःशुल्क उपचार: महानगरभित्रका निजी तथा सरकारी अस्पतालहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिनेछ।
४. वातावरण, सरसफाइ र शहरी पूर्वाधार
७ क्लस्टरमा फोहर व्यवस्थापन: महानगरलाई ७ वटा क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरको चक्रिय प्रयोग (Circular Economy) लाई प्रवर्द्धन गरिनेछ। फोहर उठाउँदा ‘प्रदुषकले तिर्ने सिद्धान्त’ (Polluters Pay Principle) अनुरुप एकद्वार प्रणालीबाट शुल्क उठाइनेछ।
घरजग्गा नक्सापासमा छुट: महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा आवासीय भवन निर्माण गर्दा नक्सापास दस्तुरमा २० प्रतिशत छुट दिइनेछ।
तीनकुने जग्गा मुआब्जा विवाद: कोटेश्वरस्थित तीनकुनेभित्रको मुआब्जा वितरण हुन बाँकी जग्गाको हकमा महानगरले एक तिहाइ र नेपाल सरकारले दुई तिहाइ रकम व्यहोर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बचत र आगामी आवको बजेटबाट किस्ताबन्दीमा मुआब्जा तिर्ने व्यवस्था मिलाइनेछ।
५. सम्पदा, सँस्कृति र डिजिटल प्रविधि
Recharged Kathmandu Campaign:जल सम्पदाको संरक्षणका लागि महानगर क्षेत्रभित्रका पोखरी तथा ढुङ्गेधारा (हिती) हरूको पुनर्स्थापना र आकाशे पानी संकलन (Ground Water Recharge) अभियान चलाइनेछ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल र जात्रा
विदेशी पाहुनाहरूलाई समेत आमन्त्रित गरी अन्तर्राष्ट्रिय स्तरको ‘काठमाडौँ फिल्म फेस्टिबल’ आयोजना गरिनेछ। इन्द्रजात्राका प्रमुख देवगणहरू श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गरिनेछ।
कर प्रणाली अडिट र एकीकृत प्रणाली
राजस्व संकलनलाई पारदर्शी बनाउन आगामी आवदेखि कर प्रणाली अडिट (Tax System Audit) सुरु गरिनेछ र करदाताहरूका लागि ‘एकीकृत करदाता परिचय नम्बर’ (Single Tax Payer ID) पूर्ण रूपमा लागू गरिनेछ।
कार्यवाहक प्रमुख डंगोलले यी नीति तथा कार्यक्रमहरूको पूर्ण कार्यान्वयनका लागि महानगरवासी, नागरिक समाज, तीनै तहका सरकार र निजी क्षेत्रको सामूहिक प्रतिबद्धता र सक्रिय सहभागिताको अपेक्षा राख्नुभएको छ।
प्रकाशित समय : १६:१७ बजे






















