मदिरा, सुर्ती, वियर र चुरोटमा कर वृद्धि
वि.सं.२०८२ जेठ १५ बिहीवार
काठमाडौं । सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर वृद्धि गरेको छ। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्यमा हानिकारक मानिने यी वस्तुहरूमा कर दर बढाइएको जानकारी दिए।
सरकारले राजस्व वृद्धि मात्रै नभई जनस्वास्थ्य सुरक्षालाई पनि ध्यानमा राख्दै यस्ता नशालु पदार्थहरूमा कर बढाउने नीति लिएको हो। नयाँ कर दर अनुसार यी वस्तुहरूको खुद्रा मूल्यमा प्रत्यक्ष प्रभाव पर्नेछ, जसले उपभोग दर घटाउने अपेक्षा गरिएको छ।
बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले नशालु पदार्थको प्रयोगबाट हुने दीर्घकालीन स्वास्थ्य जोखिम न्यूनीकरणका लागि कर नीति कडाइ गरिएको स्पष्ट पारे। यसअघि पनि प्रत्येक वर्ष सुर्तीजन्य र मदिराजन्य उत्पादनमा कर वृद्धिदर क्रमशः बढाउँदै आएको सरकार यस वर्ष अझ बढी कठोर भएको देखिन्छ।
प्रकाशित समय : १९:२० बजे






















