प्रभु बैंकको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?
वि.सं.२०८१ माघ ७ सोमवार
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशत, बैंकको कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन मुनाफा ४५।९५ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ। समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३६ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
हाल बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ।
प्रकाशित समय : ११:२९ बजे





















