शुरु भयो आइपीओको वर्षा , ७६ कम्पनीकाे आइपीओ आउँदै
नयाँ अध्यक्षको नियुक्तिसँगै नयाँ आइपीओको वर्षा हुने
वि.सं.२०८१ मंसिर ११ मंगलवार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रमेश हमालको कार्यकाल सकियसङै विगत ११ महिनादेखि आइपीओ स्वीकृतिको काम ठप्प भएको थियो ।बोर्डले हिजो सोमबार बेलुकी नयाँ अध्यक्ष पाएकाे छ । अध्यक्ष पाउनु एक दिन अगावै धितोपत्र बोर्डका पदेन अध्यक्ष महेश बरालले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडलाई आइपीओ निष्काशनको स्वीकृति दिएका छन् ।
सेबोनमा नयाँ अध्यक्षको नियुक्तिसँगै नयाँ आइपीओको वर्षा हुने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा होटल तथा पर्यटन क्षेत्रमा ७ वटा, हाइड्रोपावर क्षेत्रमा ३७ वटा, लगानी क्षेत्रमा ३ वटा, उत्पादन तथा प्रशोधन क्षेत्रमा १५ वटा, लघुवित्त क्षेत्रमा १ वटा, लघुबीमा क्षेत्रमा ३ वटा र अन्य क्षेत्रमा १० वटा गरी कुल ७६ वटा कम्पनी आइपीको प्रतिक्षामा रहेका छन् । ७६ वटा कम्पनीले ४८ अर्ब ५८ करोड ४० लाख १६ हजार ५ सय ९६ रुपैयाँ बराबरको ३३ करोड ३४ लाख ३६ हजार ८३ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । अर्थतन्त्रका विविध क्षेत्रका कम्पनीहरुको शेयर बजारमा प्रवेशसँगै नेपालको शेयर बजारले पनि अर्थतन्त्रको वास्तविक क्षेत्रको ऐनको काम गर्ने अर्थतन्त्रका जानकारहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाको मात्रै धेरै शेयर सुचीकृत हुँदा नेपालको शेयर बजारले अर्थतन्त्रको वास्तविक प्रतिनिधित्व नहुने बताउँदै आएको थियो।
हाल नेप्सेमा १९ वटा वाणिज्य बैंक, १६ वटा विकास बैंक, १५ वटा फाइनान्स, ६ वटा होटल तथा पर्यटनका कम्पनी, ९१ हाइड्रोपावर कम्पनी, ७ वटा लगानी कम्पनी, १२ वटा जीवन बीमा कमपनी, १२ वटा निर्जीवन बीमा कम्पनी, ९ वटा उत्पादन तथा प्रशोधनका कम्पनी, ५० वटा माइक्रोफाइनान्स, ६ वटा अन्य क्षेत्र, २ वटा व्यापार क्षेत्र र ३६ वटा म्युचुएल फन्ड गरी २ सय ८१ वटा कम्पनी सुचीकृत रहेका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले निष्काशन गरेको विभिन्न कम्पनीको ७३ वटा डिबेन्चरहरु समेत नेप्सेमा सुचीकृत छन् ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्रै धानेको नेपालको शेयर बजार अन्य क्षेत्रका कम्पनीहरुको समेत आइपीओ निष्काशनसँगै विस्तारै विविधिकरण हुँदै गएको छ । आजभन्दा १० वर्षअघिसम्म नेप्सेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले ७० प्रतिशतसम्म बढी कारोबारको हिस्सा ओगट्थ्यो भने पछिल्लो समय धेरै कारोबार हुने क्षेत्रमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी समूह पर्न छोडेको धेरै भइसकेको छ । पछिल्लो समय अधिकांश समय कारोबार रकमका आधारमा हाइड्रोपावर समूहको धेरै कारोबार हुन थालेको छ । सोमबार नै ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार हुँदा हाइड्रोपावर समूहको मात्रै २ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । यो कुल कारोबारको झन्डै ४० प्रतिशत कारोबार हो । अझ सेबोनको पाइपलानमा रहेका सबै कम्पनीको आइपीओ स्वीकृत भएर सुचीकृत भएपछि सबैभन्दा धेरै कारोबार हुने समूहमा हाइड्रोपावर नै रहने निश्चित जस्तै भएको छ ।
अहिलेसम्मको मितिमा सेबोनको आइपीओ पाइपलाइनमा रहेको ३७ वटा हाइड्रोपावर थपिएपछि नेप्सेमा सुचीकृत कम्पनीमध्ये एक तिहाई भन्दा बढी हाइड्रोपावर क्षेत्रका कम्पनी नै हुने निश्चित छ ।
यता कुनै समय नेप्सेमा बाहुल्यता जमाएको बैंक तथा वित्तीय संस्थाको प्रभुत्व भने विस्तारै घट्दै जाने निश्चित भएको छ । अब बैंक तथा वित्तीय संस्थाको विरलै नयाँ आइपीओ आउँछ । त्यसमाथि नेप्सेले नयाँ नयाँ सेक्टर थप्दै नयाँ आएको आइपीओ सुचीकृत गर्दै लगेको छ । पछिल्लो समय वास्तविक क्षेत्रका कम्पनीहरुको आइपीओ आउने क्रम बढेको छ । लामो समयसम्म ३ वटा मात्रै कम्पनी रहेको होटल समूहमा अहिले नै ६ वटा कम्पनी पुगिसकेको छ भने सेबोनको आइपीओ पाइपलाइनमा ७ वटा कम्पनी होटल समूहका मात्रै छन् ।
त्यसैगरी उत्पादन तथा प्रशोधन समूहमा अहिले ४ वटा सिमेन्ट कम्पनीको इन्ट्रीपछि बल्ल बल्ल ९ वटा कम्पनी पुगेको छ तर सेबोनमा पाइपलाइनमा भने यो क्षेत्रको १५ वटा कम्पनीले आइपीओ लागि स्वीकृति माग गरेको छ । वास्तविक क्षेत्रका कम्पनीहरुलाई सेबोनका निवर्तमान अध्यक्ष रमेश हमालले प्रिमियम तथा बुक बिल्डिङ विधिबाट अंकित मूल्य भन्दा बढीमा आइपीओ निष्काशन गर्न स्वीकृति दिएपछि नै वास्तविक क्षेत्रका धेरै कम्पनीहरु आइपीओ निष्काशन गर्न आकर्षित भएका हुन् । बैंक तथा वित्तीय संस्था मात्रै शेयर बजारमा स्वीकृति हुँदा नेपालको शेयर बजार अर्थतन्त्रको वास्तविक ऐन हुन नसकिरहेको परिप्रेक्ष्यमा अब भने शेयर बजारले नेपालको अर्थतन्त्रको वास्तविक चित्र प्रतिविम्वित गर्न थालेको छनक दिन थालेको देखिएको छ ।
होटल समुहबाट ७ वटा कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता ३ अर्ब ३१ करोड १० लाख रुपैयाँको शेयर निष्काशन गर्न निवेदन दिएका छन् ।
कति छन् त अनुमती माग्ने कम्पनी
हाइड्रोपावर समूहमा ३७ वटा कम्पनीले १५ अर्ब ७३ करोड ९० लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको १५ करोड ७३ लाख ९० हजार ४ सय ६४ कित्ता शेयर निष्काशनको लागि निवेदन परेको छ भने लगानी समूहतर्फ ३ वटा कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न आवेदन दिएका छन् । उत्पादन तथा प्रशोधन समूहतर्फ भने धेरै कम्पनीहरुले प्रिमियममा शेयर निष्काशन गर्न निवेदन दिएका छन् ।
यो समूहमा १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख ७६ हजार ६ सय ९६ रुपैयाँ बराबरको ९ करोड १६ लाख ७५ हजार ६ सय ८४ कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ । १५ वटा कम्पनीमध्ये जगदम्बा स्टील्स लिमिटेड, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट र अम्बे स्टिल्सले प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति मागेको छ ।
लघुवित्ततर्फ स्वस्तिक लघुवित्तले ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ भने माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति मागेको छ ।
त्यसैगरी नेप्सेले वर्गिकरण गरेको समूहमा नपरेको क्षेत्रका कम्पनीहरुलाई सेबोनले समेत अन्य क्षेत्रमा भनेर सम्बोधन गरेको छ । अन्य समूहमा १० वटा कम्पनीले आइपीओ स्वीकृति मागेका छन् । अन्य क्षेत्रमा १० वटा कम्पनीले ३ अर्ब ३२ करोड २८ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ६५ लाख ६ हजार ४ सय ३५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । अन्य समूहका १० कम्पनीमध्ये हाम्स हस्पिटल, कैलाश हेलिकोप्टर सर्भिसेस र छायाँदेवी कम्प्लेक्सले प्रिमियममा शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
प्रकाशित समय : १५:३७ बजे



















