नाट्टाको ऐतिहासिक साख जोगाउँदै नेतृत्वको दौडमा युविका भण्डारी
‘पर्यटन उठे, नेपाल उठ्छ’
वि.सं.२०८३ साउन २८ बिहीवार
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा महिला सहभागिता र सशक्त भूमिकाको इतिहास निकै गर्विलो रहेको छ। विगतमा नाट्टाको पहिलो महिला अध्यक्षका रूपमा पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले कुशलतापूर्वक नेतृत्व सम्हाल्दै नेपाली पर्यटन क्षेत्रको सर्वोच्च तहमा महिलाहरूले सफलता हासिल गर्न सक्छन् भन्ने बलियो दृष्टान्त प्रस्तुत गरेकी थिइन्। अहिले त्यही ऐतिहासिक र प्रेरणादायी साखलाई निरन्तरता दिँदै नयाँ पुस्ताकी उर्जाशील व्यवसायी युविका भण्डारी नाट्टाको आगामी कार्यकालका लागि अध्यक्ष पदको दौडमा सशक्त प्रत्याशीका रूपमा अगाडि आएकी छन्।
युविका भण्डारी नाट्टाको नेतृत्वका लागि एक्कासि बाहिरबाट आएको नयाँ वा अपरिचित अनुहार भने होइनन्। उनले लामो समयदेखि संस्थाभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै नाट्टाको कार्यशैली, साधारण सदस्यका समस्या, संस्थागत चुनौती र समग्र पर्यटन क्षेत्रले भोगिरहेका जटिलतालाई नजिकबाट नियालेकी छन्। संयुक्त कोषाध्यक्ष, सचिव हुँदै महासचिवसम्मको भूमिका सफलताका साथ निर्वाह गरिसकेकी भण्डारीको उम्मेदवारीलाई वर्षौँको संस्थागत अनुभव, निष्ठा र निरन्तर समर्पणको स्वाभाविक परिणामका रूपमा पर्यटन व्यवसायीहरूले हेरेका छन्।
‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल मर्म र दूरदर्शी अवधारणालाई आत्मसात गर्दै आफ्नो चुनावी अभियान अघि बढाएकी छन्।
भण्डारीले ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मूल मर्म र दूरदर्शी अवधारणालाई आत्मसात गर्दै आफ्नो चुनावी अभियान अघि बढाएकी छन्। देशको अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रको योगदान निर्णायक हुने भएकाले निजी क्षेत्र, नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण तथा पर्यटनसँग सम्बद्ध अन्य सरोकारवाला निकायहरूबीच प्रभावकारी र एकीकृत सहकार्य हुनुपर्नेमा उनको जोड रहेको छ। आधुनिक पर्यटन व्यवसाय तीव्र गतिमा प्रविधि, डिजिटल प्रणाली, अन्तर्राष्ट्रिय सञ्जाल र बदलिँदो पर्यटकको मागसँगै रूपान्तरण भइरहेको वर्तमान परिप्रेक्ष्यमा नाट्टाको भूमिका अझ व्यापक बन्नुपर्ने उनको स्पष्ट मान्यता छ।
युविका भण्डारी पक्षको मुख्य जोड नाट्टालाई केवल व्यवसायीका दैनिक समस्या उठाउने थलोमा मात्र सीमित नराखी, समस्याको वस्तुनिष्ठ पहिचान गरी समाधानका लागि ठोस पहल गर्ने, सदस्यहरूलाई आधुनिक प्रविधिमार्फत जोड्ने र सरकारसमक्ष तथ्य एवम् अध्ययनमा आधारित प्रभावकारी पैरवी गर्ने आधुनिक संस्थाका रूपमा विकास गर्नु रहेको छ। यसका लागि नाट्टाको डिजिटल पूर्वाधार सुदृढ गर्ने, सदस्यका गुनासाहरूको द्रुत सम्बोधनका लागि डिजिटल संयन्त्र बनाउने, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध विस्तार गर्ने र वेलनेस टुरिजमजस्ता सम्भावनायुक्त नयाँ क्षेत्रको प्रवर्द्धन गर्ने उनका प्रमुख एजेन्डा रहेका छन्।
नाट्टामा महिला नेतृत्वको ऐतिहासिक पृष्ठभूमि र सम्भावनालाई हेर्दा अम्बिका श्रेष्ठले सुरु गरेको ऐतिहासिक यात्राले नयाँ पुस्तासम्म निरन्तरता पाउने बलियो वातावरण बनेको छ। यद्यपि, भण्डारीको उम्मेदवारीलाई केवल महिला प्रतिनिधित्वको विषयमा मात्र सीमित नराखी उनको लामो संस्थागत अनुभव, नेतृत्व क्षमता, स्पष्ट कार्ययोजना र पर्यटन विकासप्रतिको दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्ने पर्यटन क्षेत्रका जानकारहरूको विश्लेषण छ।
पर्यटन व्यवसायीहरूले नाट्टाको आगामी नेतृत्व चयनलाई संस्थाको समग्र भावी दिशा र रूपान्तरण तय गर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। अनुभवसँग नवीन ऊर्जा, परम्परागत पर्यटनसँग आधुनिक प्रविधि र संस्थागत निरन्तरतासँग सकारात्मक परिवर्तनलाई जोड्ने स्पष्ट प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएकी युविका भण्डारीको उम्मेदवारीले नाट्टाको निर्वाचनलाई थप अर्थपूर्ण र प्रतिस्पर्धात्मक बनाएको छ।
प्रकाशित समय : १०:२५ बजे






















