काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेलम्यापरले संरचित तथ्यांक (डेटा) को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ ।
द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाट इन्क्युबेट भएको ट्रेलम्यापरले जुलाई ३१ मा काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटलमा ‘संरचित तथ्यांकले नेपालको पर्यटनलाई कसरी अझ सुरक्षित र स्मार्ट बनाउन सक्छ ?’ विषयक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पर्यटन, संरक्षण, विपद् व्यवस्थापन, शिक्षा तथा सञ्चार क्षेत्रका करिब ३५ प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुधन सुबेदी, नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसनका अशोक सुबेदी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईं तथा जीआईएस र विपद् जोखिम व्यवस्थापन विज्ञ राजु चापागाईं प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण अच्छता शाक्यले गरेकी थिइन् ।
छलफलमा नेपालको पर्यटन क्षेत्रमा उपलब्ध पदयात्रा मार्ग, मौसम, सुरक्षा तथा आपत्कालीन सेवासम्बन्धी सूचना विभिन्न निकायमा छरिएर रहेको र त्यसले पदयात्रीको सुरक्षामा चुनौती थपिरहेको विषयमा केन्द्रित बहस भएको थियो । सहभागीहरूले यस्ता तथ्यांकलाई एकीकृत र प्रमाणीकरण गरिएको प्रणालीमार्फत उपलब्ध गराउन सके पदयात्रा पर्यटन थप सुरक्षित र प्रभावकारी बन्न सक्ने धारणा राखेका थिए ।
छलफलका क्रममा पदयात्री सुरक्षाका लागि आवश्यक धेरै सूचना सरकारी तथा सम्बन्धित निकायसँग भए पनि ती तथ्यांक अद्यावधिक नभएको, प्रमाणीकरणको अभाव रहेको वा फरक–फरक प्रणालीमा सीमित रहेको विषय उठाइएको थियो । साथै, मौसम मापन केन्द्रको सीमित संख्या, स्थानीय तथा संघीय निकायबीच तथ्यांक आदानप्रदानको कमी तथा दुर्गम हिमाली क्षेत्रमा सञ्चार पहुँचको समस्या पनि प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो ।
ट्रेलम्यापरका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक स्वर्णिम रत्न शाक्यले नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउन तथ्यांकमा आधारित निर्णय प्रणाली आवश्यक रहेको बताए ।
‘हजारौं पदयात्रीको सुरक्षा र समग्र अनुभव सुधार गर्न यस्ता छलफल अत्यन्त आवश्यक छन् । नेपालको पर्यटन क्षेत्र लामो समयदेखि विभिन्न तह र निकायमा विभाजित अवस्थामै छ । तथ्यांकलाई एकीकृत गरेर प्रभावकारी निर्णय लिन सकिए पर्यटन क्षेत्रलाई थप सुरक्षित र प्रतिस्पर्धी बनाउन सकिन्छ,‘ उनले भने ।
उनका अनुसार ट्रेलम्यापर केवल एउटा मोबाइल एप मात्र नभई पदयात्रासम्बन्धी महत्वपूर्ण सूचना एकै स्थानमा उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो । यसले पदयात्रीलाई मार्ग, आवास, आपत्कालीन सम्पर्क तथा अन्य आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउँछ ।
कार्यक्रममा जीआईएस तथा विपद् जोखिम व्यवस्थापन विज्ञ राजु चापागाईंले नेपालको पर्यटन क्षेत्रमा नयाँ तथ्यांक सङ्कलनभन्दा पनि उपलब्ध तथ्यांकलाई व्यवस्थित र प्रमाणीकरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।
‘सबै कुरा योजनामै सीमित छ । अब आवश्यक कुरा भनेको उपलब्ध तथ्यांक पहिचान गरेर त्यसलाई प्रमाणित र प्रयोगयोग्य बनाउनु हो,‘ उनले भने । द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौड्यालले ट्रेलम्यापरको यात्राले नेपालमा नवप्रवर्तन र स्टार्टअप इकोसिस्टमको सम्भावना देखाएको बताए । एक साधारण अवधारणाबाट सुरु भएको परियोजनाले अहिले पर्यटन, संरक्षण, सरकार र प्रविधि क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याउन सफल भएको उनको भनाइ थियो ।
कार्यक्रम प्रश्नोत्तर तथा नेटवर्किङ सत्रसँगै सम्पन्न भएको थियो । सहभागीहरूले नेपालको पर्यटन सुरक्षा, विपद् व्यवस्थापन र तथ्यांक एकीकरणका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
ट्रेलम्यापर नेपालमै विकास गरिएको मोबाइल एप हो, जसले पदयात्रा मार्ग, ट्रेल वेपोइन्ट, आवास, आपत्कालीन सम्पर्क र आवश्यक जानकारीलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउँछ । हाल एप सञ्चालनमा रहेको छ भने विभिन्न पदयात्रा मार्गमा यसको फिल्ड परीक्षणसमेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा वास्तविक समय (रियल–टाइम) मा मौसम, ट्रेलको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी दिने थप स्मार्ट फिचर विकास गरिरहेको जनाएको छ । पर्यटन क्षेत्रका विज्ञहरूका अनुसार यस्ता डिजिटल समाधानले नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बनाउन मद्दत पुग्न सक्छ ।






















