back

मेरो उम्मेदवारी किन ? सडकको आवाज सदनमा पुर्‍याउन: थाहापाउनुहोस् को हुन् उनि? किन आउदैछन् ?

मेरो निम्ति सडकहरू निकै प्यारा छन्....

सडक क्रान्तिले अनेकौँ देशहरूमा सत्तामा बसेकाहरूलाई झक्झक्याउने गर्छ । समाजमा घटित घटनाहरू माथिको आवेग पोखिने गर्छ,सडक क्रान्तिबाट । इतिहास साक्षी छ,सडकको आवाजको कत्रो र कस्तो उचाई हुन्छ भन्ने । यद्यपि,सडकमा आवाज उठाइने हो,परिवर्तनको मुद्दा बोकेर देश र जनताको हितमा सत्याग्रह गर्ने हो । तर,सरकार र सत्ताले नै हो त्यसलाई सम्बोधन गर्ने ।

मेरो निम्ति सडकहरू निकै प्यारा छन् । पछिल्लो एक दशक निकै सक्रिय रुपमा म सडकबाट बारम्बार कराएको छु,सत्याग्रह गरेको छु र परिवर्तनको सम्बाहकको रुपमा सधैँ प्रस्तुत भएको छु । अब यहाँहरूलाई अवगत भइ नै सक्यो कि मैले यस पटकको प्रतिनिधि सभाको चुनावमा काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दिएको छु । र,त्यो उम्मेदवारी सडकमा बसेर बोलेको र गरेको जनताको आवाज,काम अब सदनबाट गर्नलाई हो । यत्ति भनौँ,सडकको आवाज सदनमा बोल्न मेरो उम्मेदवारी ।

डाक्टर बन्न काठमाडौं

मेरो जन्म कैलालीको दोदोधरा गाउँपालिका ललितापुर भन्ने ठाउँमा  भएको हो । त्यहाँबाट पढाईको निम्ति म धनगढीको सिद्धार्थ शिशु सदनमा कक्षा १ बाट नै होस्टेलमा बसेँ । र,जेहेनदार विद्यार्थी भएका कारण मेरो पढाई कक्षा चढ्दै चाँडै सकियो । यसरी २०५९ सालमा मैले एसएलसी गरेँ ।

एसएलसीपछि काठमाडौंको राम्रो कलेजमा भर्ना गराएर पछि डाक्टर पढाउने मेरो परिवार र पूर्व स्वास्थ सचिव मेरो काका डा दिलवरसिंह बमको चाहना थियो । सोही बमोजिम म काठमाडौंको निष्ट कलेजमा नाम निकालेर प्लस टु पढ्न थालेँ । प्लस टु पछि एमबीबीएस पढ्न प्रयास गरेँ । बंगलादेश,चीनबाट केही शुभ सन्देशहरू पनि आउने क्रममा थिए । साथै त्यस सँगसँगै मेरो रुचिको विषय भनेको सामाजिक काम,सहयोग र सद्भावना भने पहिलेदेखि नै थियो । त्यसैकारण म सामाजिक कार्यहरूमा भने १२ कक्षा पास भएपछि नै लागिसकेको थिएँ ।

मेरो जीवनको आरोह अवरोहहरूका बिच आइपुगेको एक घटनाले भने मलाई नराम्ररी बिथोलेको थियो । त्यस घटनाबाट म समाज,व्यक्तिसँग जोडिएका कयौँ पक्षहरूलाई नियाल्न थालेँ । त्यो घटना थियो,इराकमा मारिएका १२ जना नेपाली । इराकको उक्त घटनापछि नेपाली समाजमा देखिएको परिवर्तनबाट हामी केही साथीहरू हच्किएका थियौँ । नेपालीहरूले मुस्लिम धर्मका मानिसहरू देखेपछि गर्न थालेको आक्रमण हाम्रो निम्ति निकै अप्रिय खबर बनेर आइपुगेको थियो । हिजोसम्म आनन्दले बसेका मानिसहरू आज एक अर्काको शत्रुझैँ देख्दा त्यो कलिलो वैँशको उमेरमा पैदा भएका तरंगहरू आज सम्झिँदा पनि कतै कतै डर लागेझैँ हुन्छ । यही घटनापछि मेरो जीवनमा एक प्रकारको परिवर्तन आयो,जुन समाज र जनमानससँग जोडिएको थियो ।
त्यो घटनापछि मानव अधिकारको जुलुसहरूमा लागियो । कपिल श्रेष्ठ लगायतले नेतृत्व गर्नु भएको अनेकौँ नागरिक आन्दोलनमा म सरिक हुन थालेँ । केही समयपछि सेन्ट जेभियर कलेजमा भएको पिस बिल्डिङ एण्ड नेशनल डेभलपमेन्टको सेमिनारमा सहभागी भएँ । त्यहाँ उपस्थित हुनु भएका डा बाबुराम भट्टराई,गगन थापा लगायतका व्यक्ति र त्यस कार्यक्रमको गरिमाबाट म लोभिएँ ।

उक्त कार्यक्रम काठमाडौं विश्वविद्यालय सामाजिक कार्य विभागबाट आयोजित भएको सुनेपछि म पनि चिकित्सक डाक्टर बन्ने लहडबाट विदा हुँदै सोसल वर्कमा भर्ना भएँ । यसरी जीवनका बाटाहरू अब आफैँ पहिल्याउँदै मैले बिरामी नहेरेर समाजको रोग हेर्छु र त्यसको विरुद्ध लाग्छु भन्ने अठोटसँगै अघि बढेँ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको सोसल वर्कमा उत्तीर्ण भएपछि मैले त्रिविबाट राजनीतिशास्त्र र समाजशास्त्र दुई विषयमा स्नातकोत्तर गरेँ ।

सामाजिक जीवन र वैकल्पिक राजनीति 

केयूबाट सामाजिक कार्य पढ्दा नै अनुसन्धान पत्रको रुपमा मैले काम गरेको विषय थियो राजनीतिमा युवा । राजनीतिमा युवाको उपस्थिति हुनुपर्छ भन्ने धारणा उही बेला नै थियो मेरो । राजनीतिको तालमा पौडिन र खट्न त्यति सहज त थिएन तर समाज परिवर्तनको सम्बाहक बनेर समाज रुपान्तरणको मेरो सपना निकै बलियो थियो । स्नातक पढ्दा गरेको अनुसन्धानमा नै म अडिग भएर अब काम पनि गर्नुपर्छ,अनुसन्धानले मात्र हँुदैन भन्ने मेरो निष्कर्ष थियो । त्यसलगत्तै उज्ज्वल थापा लगायत दाईहरूसँग भएको संगत र सहकार्यले राजनीति गर्ने र यो फोहोरलाई सफा गर्ने हाम्रो लक्ष्य बन्यो । त्रिविमा पढ्दा देखेको त्यो फोहोरी विद्यार्थी राजनीतिबाट देश र समाज अघि लाग्न सक्दैन भन्ने उज्ज्वल दाई लगायत हाम्रो निष्कर्ष थियो । र,त्यही निष्कर्षको परिणामस्वरुप जन्मियो वैकल्पिक राजनीति ।

वैकल्पिक राजनीति नेपालमा त्यसै जन्मिएको हैन । हामी फोहोरबाट छुटकारा पाउन चाहने केही नेपाली मनहरू मिलेर जन्मिएको थियो वैकल्पिक राजनीति र विवेकशीलको लर्को । २०७४ सालको चुनावमा हाम्रो उपस्थिति उल्लेख्य मात्रामा नै भयो र परिवर्तनको डोर बोकेर हिँडेका हामीलाई जनताले पत्याए पनि । आज,बालेन शाह उदाउनु भनेको पनि वैकल्पिक राजनीतिक शक्तिप्रति भएको जनताको चासो र भरोसा नै हो । विगतमा बालेन शाह हामीसँगै सहकार्य गर्न खोज्नु भएको कुरा पनि त इतिहासमा लेखिएको छ ।

यसरी भन्दै गर्दा,वैकल्पिक राजनीतिको धर्को यति लामो समयसम्म तानेर यहाँसम्म ल्याउँदै गर्दा हामी विभिन्न अभियान र परिवर्तनको निम्ति लडेका छौँ र जनतामाझ यो पक्ष सधैँ खुलस्त नै छ । काम गरेर यहाँसम्म आइपुग्दा हामीसँग जोडिएका केही व्यक्ति विशेषहरूले विराएको बाटोको संज्ञा हामीलाई नलगाइदिनु होला भन्ने पनि हाम्रो र मेरो बुझाइ हो । आम जनताले हाम्रो १० प्रतिशतका कारण विगतको ९० प्रतिशतलाई यसरी नबगाइदिनुहोला भन्ने पनि मेरो विनम्र अनुरोध छ । केही क्षमा माग्दै र केही मार्गदर्शन गराउँदै म तपाईंहरू माझ प्रस्तुत भएको छु । विगतको दुई वर्षले हामी माथिको निष्कर्ष नलगाउन अपिल छ । किनभने यो भनेको पुकार,मिलन,रन्जु,गोविन्द नारायण मात्र हैन यो शक्ति भनेको हजारौँ जनताको विश्वास र हामी प्रतिको लगाव हो ।

हाम्रो राजनीतिक जीवनकाललाई जुन जोगी आएपनि कानै चिरेको जसरी हेर्नु गलत हुनेछ । रवीन्द्र मिश्र आज हामीबाट विविध ढंगले अलग हुनु भएको छ । र,त्यो नै हाम्रो पार्टी र हिजोको हाम्रो विचार आजसम्म अडिग भइरहेको एक उदाहरण हो । परिवर्तनको निम्ति गरिएको राजनीतिबाट हामीलाई व्यक्तिगत लाभको कुनै पनि चाहना छैन । त्यसैले,हामी बारम्बार परम्परागत पार्टीजस्तो हाम्रो पार्टीलाई बनाउने खोज्नेहरूलाई बहिष्कार गर्ने र अलग हुने हो ।

उम्मेदवारी किन ?

भविष्यमा यस्तो,उस्तो बनाउन भनेर म भन्ने छैन । मेरो उम्मेदवारी भनेको मैले गरेको विगतसँग नै जोडिन्छ र त्यो विगत भनेको बारम्बार सडकमा गरेको कार्य हो । त्यसलाई थप सार्थक बनाउनको निम्ति मेरो उम्मेदवारी हो । यस परिस्थितिमा हामीले सम्झिन अत्यन्तै जरुरी हुन्छ हिजोका अभियानहरू,जुन विगत १२÷१३ वर्षदेखि पुकार बमले नेतृत्वमा बसेर गरि नै रहेको छ । चाहे त्यो,गोविन्द केसीको माग सम्बोधनको कुरा होस्,जसमा हरेक जेहेनदारले एमबीबीएस पढ्न पाउनु पर्छ भन्ने मुद्दालाई अंगीकार गरेको थियो । आज त्यसकै परिणाम स्वरुप रामजी राम जस्ता व्यक्तिहरू डाक्टर बनेका छन् ।

त्यस्तै, ‘हाम्रो नेपाल खुल्ला छ’ जस्ता अभियानले आज नेपाल बन्दको कुरीति बन्द हुनुमा टेवा पक्कै पनि पुर्याएको छ । त्यसबखत,आफ्ना कुरा सुनाउन बन्दको विकल्प रोज्नेहरूका निम्ति हामी विरुद्धमा उत्रिएका थियौँ । प्ले कार्डबाट सुरु गरेर पछि असन,इन्द्रचोकका गल्ली गल्लीका पसलहरूमा सटर खोल्न पनि हिँडेका छौँ । यसरी सानादेखि ठुला कुरीति विरुद्धको हाम्रो आवाज सधैँ बुलन्द भएर आइ नै रह्यो ।

इनफ इज इनफ’ जस्ता मुद्दा उठाएर उक्त अभियान हाम्रो उल्लेख्य कार्य बन्यो । म आफैँ १२ दिनसम्म पानी पनि नखाएर अनशन बसेको छु । एउटा सत्याग्राहीको रुपमा मैले गरेका यी कर्महरूमा व्यक्तिगत स्वार्थका कुरा न हिजो थियो,न आज छ । कोभिड कालमा सरकारको लाचारी विरुद्ध गरेका कामहरू आज सम्झिनु पर्छ । सरकारले पछि हामीसँग सम्झौता गर्यो र हामीले नै सरकारलाई बाध्य बनायौँ । आँखाबाट आँसु झरे । आफ्नाहरू सम्झियौँ पनि तर समाजको अभिभावकत्व बोकेर हिँड्ने दृढता बोकेको हामीलाई पछि हट्ने छुट कहिल्यै थिएन ।

विभिन्न अभियानमा संग्लग्न हुँदै गर्दा आज मेरो उम्मेदवारी र म संसदमा पुग्दै गर्दा सदन क्रान्ति र डेलिभरी बोक्ने मेरो अठोट छ । सडक क्रान्तिको एक दशक भन्दा लामो समयपछि अब पालो सदनको । किनभने हामीले केवल आवाज उठाएको मात्रै कहिल्यै पनि हैन,त्यसलाई पुरा गरेर बारम्बार सफलता पाएका पनि छौँ । कोभिड कालमा हामीले चलाएको सातै प्रदेशमा ५५५ दिन लामो निःशुल्क खानाको अभियानमा हामीलाई साथ दिनु भएको छ । मिस नेपालको फोरमले,निश्चल बस्नेत,स्वस्तीमा खड्का,मिनबहादुर भाम लगायतले र यहाँबाट उहाँहरूलाई पनि म कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

अन्त्यमा,पुकार बमले ६ महिना अघि नै उम्मेदवारी दिनु भनेको पैसा विना चुनाव जित्न सकिन्न भन्ने परम्परागत पार्टीको गलत व्याख्या विरुद्धको कदम पनि हो । अबको केही महिना जनताको घर धाउने हो । उहाँहरूको परे गाली पनि खाने हो । विगतमा गरेको काम र भविष्यमा गर्ने काम जनता समक्ष भन्ने हो र चुनाव जित्न करोडौँ पैसा लाग्दै लाग्दैन भन्ने सन्देश पनि दिने हो ।

मेरो आह्वान् सम्पूर्ण युवाहरूलाई,आउनुस् यो बेथितिविरुद्ध हामी लड्ने हो र लड्नुपर्छ । हामीले नै हो यो फोहोर सफा गर्ने र अघि बढ्ने । तसर्थ,चुनाव प्रक्रियालाई सफा बनाऔँ र सदनबाट देश बनाउने युवाको प्रतिनिधित्व गर्न मेरो उम्मेदवारीलाई साथ दिऔं । पुनः दोह्र्याउँछु,सडकबाट आवाज र क्रान्ति धेरै गरियो । अब सदनबाट आवाज,क्रान्ति र डेलिभरीको पालो । जय देश ।साभारः रातोपाटी


नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ : चिरञ्जीवि अधिकारी

वि.सं.२०७९ साउन २५ बुधवार १३:३०

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ ।...

जनताको चाहना जस्तै देखियो: यस्ता छन् नेपालको अर्थतन्त्र सुधार्न पूर्वअर्थमन्त्री डा. महतको महत्वपुर्ण टिप्स

जनताको चाहना जस्तै देखियो: यस्ता छन् नेपालको अर्थतन्त्र सुधार्न पूर्वअर्थमन्त्री डा. महतको महत्वपुर्ण टिप्स

वि.सं.२०७८ चैत २४ बिहीवार १२:०५

सरकारले पुँजीगत खर्च गर्न सकेन । २०४६ सालको परिवर्तनपछि आर्थिक...

बाथ रोग, यसका प्रकारहरु र उपचार पद्धती, डा. शर्मा

बाथ रोग, यसका प्रकारहरु र उपचार पद्धती, डा. शर्मा

वि.सं.२०७८ फागुन १६ सोमवार १७:००

बाथ रोग भनेको शरीरका कुनैपनि जोर्नी दुख्ने, सुन्निने, सुजन हुने,...

औषधि पत्ता नलागेको रोग

औषधि पत्ता नलागेको रोग

वि.सं.२०७८ फागुन ७ शनिवार १९:४२

आकारमा ऊ अरुभन्दा सानो थियो, तर सबैको बीचमा थियो ।...

कोरोना महामारी र उद्योगको पुनर्उत्थान (उद्योगसचिव पोखरेलको लेख)

कोरोना महामारी र उद्योगको पुनर्उत्थान (उद्योगसचिव पोखरेलको लेख)

वि.सं.२०७८ मंसिर १४ मंगलवार १२:३३

सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना महामारीले विश्व...

डब्ल्यूटीओको विवाद निरुपण संयन्त्र, निष्क्रिय एपेलेट बडी र नेपालको चासो

डब्ल्यूटीओको विवाद निरुपण संयन्त्र, निष्क्रिय एपेलेट बडी र नेपालको चासो

वि.सं.२०७८ मंसिर १३ सोमवार १४:२२

परिचय विश्व व्यापार संगठन (डब्ल्यूटीओ) १ जनवरी १९९५ देखि एक...