ट्रेजरी बिलमार्फत सवा १७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
वि.सं.२०८१ मंसिर ३ सोमवार
काठमाडौं । सरकारले करिब सवा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै सरकारले ट्रेजरी बिल मार्फत् १७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको हो ।
जसमध्ये १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ । बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको हो ।
ट्रेजरी बिलका लागि सोमबार आज दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । सूचनाअनुसार मंगलबार ट्रेजरी बिल वितरण गरिनेछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ ।
पछिल्लो पटकको बोलकबोलमा २.९८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ३ प्रतिशत र सबैभन्दा कम २.४५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
सरकारले चालु वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१, पुाजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत छ ।
प्रकाशित समय : १३:२६ बजे





















