महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्याे, लाभांश क्षमता कस्ताे ?
वि.सं.२०८३ साउन २० बुधवार
काठमाडौँ। राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ४८.४६ प्रतिशतको शानदार वृद्धि दर्ता गरेको छ।
असार मसान्तसम्म आइपुग्दा बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
नाफामा आएको यो फराकिलो उछालसँगै बैंकको सञ्चालन मुनाफा र मुख्य ब्याज आम्दानीमा पनि उल्लेखनीय सुधार देखिएको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५३.५३ प्रतिशतले बढेर ९३ करोड ७९ लाख ३७ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६१ करोड १० लाख ६ हजार रुपैयाँमा सीमित थियो। यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड ८७ लाख ५० हजार रुपैयाँ पुगेको छ।
मुख्य आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको कुल सञ्चालन आम्दानी १०.७६ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ६० लाख २४ हजार रुपैयाँ पुगेको छ। यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ३१ करोड ५८ लाख रुपैयाँमा झरेकाले पनि खुद नाफा बढाउन उल्लेख्य सहयोग पुर्याएको हो।
कमाइमा भएको यो वृद्धिसँगै बैंकको लाभांश क्षमतामा पनि राम्रो सुधार आएको छ। नियामक निकायका विभिन्न कोष तथा प्राविधिक समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य मुनाफा४६ करोड ५१ लाख ९८ हजार रुपैयाँ कायम भएको छ, जसबाट सेयरधनीहरूलाई प्रतिशेयर १०.३१ रुपैयाँका दरले लाभांश बाँड्न सक्ने क्षमता सुरक्षित भएको छ।
वित्तीय सूचकहरूतर्फ नजर लगाउँदा, खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९.८८ रुपैयाँबाट उकालो लाग्दै १३.९६ रुपैयाँ पुगेको छ।
यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १६५.४२ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा (एनपीएल) ४.७६ प्रतिशतबाट घटाएर ४.३२ प्रतिशतमा झार्न सफल भएको छ।
बैंकको आधार दर (बेस रेट) ५.६६ प्रतिशत, स्प्रेड रेट ४.१९ प्रतिशत र पुँजी कोष अनुपात १७.५७ प्रतिशतको बलियो अवस्थामा रहेको छ।
समिक्षा अवधिमा ४ अर्ब ५१ करोड १२ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैंकको व्यवसाय विस्तारतर्फ पनि सकारात्मक उपस्थिति देखिएको छ। असार २०८३ सम्ममा बैंकले सर्वसाधारण तथा संस्थागत ग्राहकहरूबाट ५३ अर्ब ८ करोड ९९ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब ३४ करोड १३ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
प्रकाशित समय : ०९:३७ बजे





















