नेप्सेको चरम लापर्बाही—अर्बौंको मार्जिन कर्जा प्रवाह, तर सूचना लुकाएर पारदर्शिताको धज्जी उडाउँदै नियामक
वि.सं.२०८३ असार २४ बुधवार
काठमाडौं । नेपालको पुँजी बजारमा लामो समयदेखिको प्रतीक्षा र सङ्घर्षपछि ऐतिहासिक खुड्किलो मानिएको ‘ब्रोकरमार्फत मार्जिन कर्जा’ (Margin Lending) सेवा औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा मात्रै निर्भर रहनुपर्ने परम्परागत बाध्यतालाई तोड्दै ब्रोकर कम्पनीहरुले आफ्नै पुँजी र बैंकबाट लिएको ऋणसमेत परिचालन गरी अर्बौँ रुपैयाँ कर्जा प्रवाह गर्न थालिसकेका छन्। तर, पुँजी बजारको फ्रन्टलाइन नियामक र सञ्चालक मानिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भने आफ्नै कार्यविधिले तोकेको ‘अनिवार्य सूचना’ लुकाएर बजारको पारदर्शिता र सुशासनको गम्भीर धज्जी उडाएको छ।
कार्यविधिको ठाडो उल्लंघन: नेप्सेकै नियतमाथि प्रश्न
नेप्सेले जारी गरेको ‘मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि’ को परिच्छेद–८ को बुँदा नम्बर २१ मा सूचना सम्प्रेषण सम्बन्धी कडा र स्पष्ट व्यवस्था गरिएको छ। उक्त बुँदाको उपदफा (२) मा किटानीका साथ लेखिएको छ— “हरेक दिन भएको मार्जिन कारोवार सुविधा अन्तर्गतको कारोवारलाई नेप्सेले अनुसूची–५ को ढाँचामा अर्को कारोबार दिन सम्ममा आफ्नो वेबसाइटमार्फत सम्प्रेषण गर्नेछ।”
विडम्बनाको कुरा, ब्रोकरहरूले नियमको पूर्ण पालना गर्दै दैनिक रूपमा मार्जिन कर्जाको रिपोर्टिङ नेप्सेलाई निरन्तर गरिरहेका छन्। कार्यविधि अनुसार ब्रोकरले कारोबार भएको अर्को दिन मध्याह्न १२ बजेभित्र नेप्सेलाई अनिवार्य रूपमा विवरण बुझाउनुपर्छ र सोही दिन नेप्सेले त्यसलाई आफ्नो वेबसाइटमा अद्यावधिक गर्नुपर्छ। तर, नेप्सेले प्राप्त गरेको उक्त संवेदनशील तथ्याङ्क वेबसाइटमा सार्वजनिक नगरी आम लगानीकर्तालाई पूर्ण रूपमा अन्धकारमा राख्ने काम गरेको छ। यसले नेप्सेको कार्यक्षमतामा मात्र होइन, उसको नियतमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
लगानीकर्ताको सूचनाको हक र बढ्दो जोखिम
ब्रोकरहरूले आफ्नो पुँजी र ऋणसमेत जोखिममा राखेर लगानी गरिरहेका बेला कुन कम्पनीको शेयरमा कति मार्जिन कर्जा प्रवाह भयो भन्ने यथार्थ जानकारी पाउनु हरेक लगानीकर्ताको नैसर्गिक र कानुनी अधिकार हो। अनुसूची–५ बमोजिमको ढाँचामा निम्न कुराहरू स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था छ।
-
सूचीकृत संस्थाको नाम
-
शेयरको किसिम
-
मार्जिनमा रहेको कुल शेयर संख्या
-
लगानी गरिएको कुल रकम

बजारमा मार्जिन ट्रेडिङ सुरु हुनुको मुख्य उद्देश्य तरलता बढाउनु, कारोबारमा गतिशीलता ल्याउनु र लगानीकर्तालाई सहजता प्रदान गर्नु हो। तर, कुन कम्पनीको कति कित्ता शेयर ‘मार्जिन’ मा होल्ड छ भन्ने तथ्याङ्क सार्वजनिक नहुँदा बजारमा कस्तो अस्वभाविक जोखिम सिर्जना भइरहेको छ भन्ने कुराबाट लगानीकर्ता पूर्णतः अनभिज्ञ छन्।
भोलिका दिनमा बजार घट्दा मार्जिन कल (Margin Call) आउने र फोर्स सेल (Forced Sell) को दबाब कुन स्क्रिप्टमा कति पर्छ भन्ने अनुमान गर्न नसक्दा साना लगानीकर्ता ठूलो मारमा पर्ने निश्चित छ। यसले निश्चित समूहलाई फाइदा पुग्ने गरी ‘पम्प एन्ड डम्प’ (Pump and Dump) जस्ता अवाञ्छित गतिविधि गर्नेहरूलाई मलजल गरिरहेको छ।
प्रविधिको बहाना कि भित्री चलखेल?
नेप्सेको वेबसाइटमा यतिबेला शेयर मूल्य, भोल्युम र नियमित कारोबारको विवरण त सहजै देखिन्छ, तर मार्जिन ट्रेडिङको छुट्टै ‘ट्याब’ वा सूचना कतै पनि भेटिँदैन। अनुसूची–५ मा सम्प्रेषण गर्नुपर्ने सूचनाको स्पष्ट ढाँचा हुँदाहुँदै पनि त्यसलाई कार्यान्वयनमा नलैजानुलाई सामान्य प्राविधिक त्रुटि मान्न सकिँदैन।
नेप्से जस्तो जिम्मेवार निकायले प्रविधिको बहाना बनाएर वा नियतवश सूचना लुकाएर बजारलाई अपारदर्शी बनाउन खोजेको आरोप चौतर्फी रूपमा लाग्न थालेको छ।
“ब्रोकरहरूले दैनिक रिपोर्टिङ गरिरहेका छन्, तर नेप्सेले किन वेबसाइटमा अपडेट गर्दैन? यो त सिधै कार्यविधिको उल्लंघन हो,” एक सक्रिय लगानीकर्ताले आक्रोश पोख्दै भने। “सूचना लुकाउँदा भित्री रूपमा चलखेल हुने र बजारको वास्तविक गहिराई (Market Depth) पत्ता लगाउन गाह्रो हुन्छ।”
धितोपत्र बोर्ड (SEBON) को मौनता र अबको बाटो
नेप्सेले आफ्नै वेबसाइटमार्फत दैनिक रूपमा मार्जिन कर्जाको विवरण सार्वजनिक नगर्नु भनेको शेयर बजारको पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथिको निर्मम प्रहार हो। एकातिर ब्रोकरहरू कोषको अभाव र बैंकको उच्च ब्याजदर तथा अनिच्छाका बीच पनि लगानीकर्तालाई सेवा दिन संघर्षरत छन्, अर्कोतिर नेप्से भने सूचना प्रवाहमा सहजकर्ता बन्नुको साटो उल्टै ठूलो अवरोध बनेर बसेको छ।
यस्तो गम्भीर विषयमा पुँजी बजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) ले तत्काल हस्तक्षेप गर्न जरुरी छ। बोर्डले नेप्सेलाई यो कानुनी व्यवस्था कडाइका साथ पालना गराउन तुरुन्तै निर्देशन दिनुपर्छ र अटेरी गरेमा कारबाहीको दायरामा ल्याउनुपर्छ।
आफ्नै कार्यविधिले अनिवार्य गरेको एउटा सामान्य सूचना दैनिक रूपमा वेबसाइटमा राख्न नसक्ने हो भने नेप्सेले ‘आधुनिक बजार’ र ‘अन्तर्राष्ट्रिय स्तरको प्रविधि’ को दाबी गर्नुको कुनै अर्थ रहँदैन। लगानीकर्ताले खोजेको पारदर्शी तथ्याङ्क हो, खोक्रो आश्वासन होइन। नेप्सेले साँचो अर्थमा बजारको दिगो र सुरक्षित विकास चाहेको हो भने अब कुनै पनि बहानाबाजी नगरी, तत्काल मार्जिन ट्रेडिङको दैनिक विवरण अनुसूची–५ को ढाँचामा सार्वजनिक गर्नैपर्छ।
प्रकाशित समय : १०:४६ बजे






















