थाइल्यान्डद्वारा नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण
वि.सं.२०७८ जेठ १ शनिवार
काठमाडौँ । थाइल्यान्डले नेपाललाई १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन थाइल्यान्डका जनताले नेपाललाई हस्तान्तरण गरेका हुन् । उक्त सङ्केन्द्रक थाई गुम्बा लुम्बिनीमार्फत नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको यहाँस्थित थाई दूतावासले आज जनाएको छ ।
थाइल्यान्डका जनताबाट प्राप्त उक्त सहयोग नेपाल र थाइल्यान्डबीचको आत्मीय एवम् सद्भावपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।
२०७८ जेठ १ गते प्रकाशित
प्रकाशित समय : ०६:१३ बजे