थपिएको मत थपिएको जिम्मेवारी हो, जनादेशको इमान राख्छु : रवि लामिछाने
राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु
वि.सं.२०८० वैशाख १३ बुधवार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्।
कीर्तिमानी विश्वासका लागि चितवन- २ का मतदाताप्रति नमन व्यक्दै गर्दै आज बुधबार बिहान उनले सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धता गरेका छन्।
लामिछानेले उप-निर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उल्लेख गरेका छन्।
उनले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन -२ का मतदाताले दिएको उल्लेख गरे। ‘चितवन – २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्।
तपाईंहरुकै भर / समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु। चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन -२ का मतदाताले दिनुभएको छ।’
जनादेशको इमान राख्न सधैँ प्रतिबद्ध हुने पूर्व उपप्रधानमन्त्री लामिछानेको भनाई छ। उनले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल/उम्मेदवार र तिनका नेता-कार्यकर्ता समक्ष आग्रह गरेका छन्।
लामिछानेले जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रष्ट पारे। ‘दलीय प्रतिस्पर्धा। तर, विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि।
लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहनेछु। जनप्रतिनिधिका रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै रहने छैन।’
लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारलाई सदा-सर्वदा साथमै लिएर चितवन – २ का नागरिकको तत्कालिन, मध्यकालिन र दीर्घकालिन आकांक्षा पूरा गर्न सक्रिय रहने उनको भनाई छ। प्रतिस्पर्धी दल र उम्मेदवारसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त भइरहनेमा विश्वास व्यक्त गरे।
तनहुँ-१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा उभार सिर्जना गर्नुप्रति पनि नमन व्यक्त गर्दै लामिछानेले उनलाई बधाई दिए।
‘अनेकौं प्रतिकूलता बीचको स्नेह र अभिमताका लागि बारा-२ का मतदाता आभार।
हाम्रा प्रतिस्पर्धी रमेशप्रसाद खरेलप्रति यसपटक व्यक्त स्नेहले अर्को अभ्यासमा परिणाम दिने छ भन्नेमा विश्वस्त छु’उनले भनेका छन्।
प्रकाशित समय : ११:०१ बजे






















