राष्ट्रपतिद्धारा जारी अध्यादेशप्रति कांग्रेसको आपत्ति

वि.सं.२०७८ वैशाख २१ मंगलवार

२१ वैशाख, काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशमा नेपाली कांग्रेसले असमर्थन जनाउँदै विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो ।
बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको महतले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै सात वटा अध्यादेश जारी गरेकी थिइन् ।
जारी भएका अध्यादेशहरूमा विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (हिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।
यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले छुट्टै विज्ञप्ति समेत निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको उनको भनाइ छ ।
परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’, देउवाको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : १२:५१ बजे