स्थानीयलाई स्वरोजगार बनाउँदै चाँगुनारायण नगरपालिका
वि.सं.२०७८ कात्तिक २८ आइतवार
काठमाडौँ । पछिल्लो समय स्थानीय तहमार्फत गाउँका धेरै स्थानीयले रोजगारी पाएका छन् ।
मध्यम तथा निम्न वर्गीय परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले विभिन्न शिर्षकमा सीपमुलक तालिमहरु दिइरहेको छ । जसमध्य एक हो– ‘चाँगुनारायण नगरपालिका ।’
ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये पर्छ चाँगुनारायण नगरपालिका ।
स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो ।
यस नगरभित्र झौखेल, छालिड, दुवाकोट गा.वि.स समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट बागेश्वरी, सुडाल र ताथली गा.वि.स समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका मिलाएर नाम संशोधन भै नगरकोट नगरपालिका कायम भयो ।
चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिका मिलाएर चाँगुनारायण नगरपालिका भए पछि ९ वटा वडा कायम भई नगरपालिकाको केन्द्र खरिपाटी, भक्तपुरमा रहेको छ ।
यो नगरपालिकाले भक्तपुर र नगरकोटका धेरै स्थानीयलाई स्वरोजगार बनाएको छ ।
नगरपालिकाले विशेषगरी महिला उद्यमशीलता र मेयर उद्यमशीलता लगायत शिर्षकमा ल्याएका कार्यक्रमहरु प्रभावकारी बनेसँगै थुप्रै मानिसहरु स्वरोजगार बनेको उपप्रमुख विणा बास्तोला बताउँछिन् ।
देश संघीयतामा गएसँगै तीन तहको सरकार कायम छ । स्थानीय तह बनेको पनि साढे ४ वर्ष पुरा भइसकेको छ । यो अवधिमा चाँगुनारायण नगरले ल्याएको चुनावी एजेण्डा तथा नीति तथा कार्यक्रमहरु ७० प्रतिशत पूरा भएको विणाको दाबी छ ।
‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार’ भन्ने नारा लिएर अघि बढ्यो । ९ वटा वडैमा सवारीसाधन पुग्ने गरी सडकको विस्तार गरेको छ ।
त्यस्तै गत आर्थिक वर्षमा साढे ३ किलोमिटर सडक कालोपत्रे बाटो निर्माण गरेको उपप्रमुखले बताइन् । ८ किलोमिटर सडकहरु ग्राभेल भएका र २ किलोमिटर ढलान भएको छ’ उनले भनिन् ।
स्वास्थ्यतर्फ नगरले थुप्रै काम गरेको उनले बताएकी छिन् । कोरोना भाइरस माहामारी चलिरहँदा स्थानीयको स्वास्थ्य उपचारका लागि नगरपालिकाले महत्वपुर्ण भूमीका खेल्यो ।
स्वास्थ्य चौकी भवन निर्माण र १ वटा सामुदायिक भवन निर्माण भएको उनले समग्र समाचारलाई जानकारी दिइन् ।
पूर्वाधारतर्फ सडकसँगै खानेपानीका क्षेत्रमा पनि नगरले थुप्रै काम गरेको छ । उपप्रमुख बिणाकाअनुसार नगरपालिकाले एकवर्ष लगाएर नगरले ५ वटा डिप बोरिङ्ग गरेको छ । जसमध्य एउटा बोरिङ्ग अहिले सञ्चालनमा रहेको छ ।
‘जनताको घरघरमा धारा पु¥याउने हाम्रो लक्ष्य केही पूरा भएको छ भने कहीकतै हुँदैछ’ उनले खुसी हुँदै भनिन्, ‘३ वटा बोरिङ्गको काम अहिले भइरहेको छ यो काम सकेपछि सबै जनताको घरमा धारामा पानी पुग्नेछ ।’
प्रभावकारी बन्दै उपमेयर उद्यमशीलता कार्यक्रम
नगरपालिकाले महिला लक्षित थुप्रै कार्यक्रमहरु गरेको छ । विशेषगरी महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरले विभिन्न तालिमहरु दिने गरेको छ ।
वीणाकाअनुसार लोकसेवा तयारी कक्षा, सवारी ड्राइभिङ, फूल बनाउने, बेद बासको प्रयोगले विभिन्न सामग्री बनाउने तालिम हरेक वर्ष दिदैँ आएको छ । यी काम प्रभावकारी बनेको उपमेयरको भनाइ छ ।
‘बासको प्रयोग गरेर मुँडा बनाउने, फूल बनाउने, मन्दिर बनाउने, डाइनिङ डेबल बनाउने, भान्सामा प्रयोग गरिने सामग्रीहरु बनाउने काम महिलाहरुले निरन्तर गरिरहेका छन्’ उनले समग्र समाचारसँग भनिन्, अहिले उहाँहरु आफ्नो जीविकोपार्जन गरिरहनु भएको छ ।’
घरमै बसेर खेर गएका बासको प्रयोगले आफ्नो दैनिकी चलाउनु आफैमा गर्वको कुरा हो । त्यही उत्पादनलाई बजारसम्म पु¥याएर र जीविकोपार्जनको आधार तथा आम्दानीका स्रोत बनेको छ ।
महिलाहरुलाई लक्षित गरेर दिएको निशुल्क सवारी ड्राइभिङ कक्षाबाट पनि थुप्रैले रोजगारी पाएका छन् । २३ जनाले लाइसेन्स (सवारी चालक अनुमति पत्र) निकालेर सवारी साधन (ट्याक्सी) चलाएरै पनि जीविकोपार्जन गरिरहेका छन् ।
हरेक वर्ष ५ सयको हाराहारीमा यस्ता तालिम दिने गरेको उनले बताइन् । मध्यम वर्ग गरेर हामीले त्यस्ता काम गरिरहेका छौंँ । यो कार्यक्रम उपमेयर उद्यम शिलता अन्तर्गतको हो ।
यससँगै महिलाहरुले ढाका बुन्ने, सिलाई बुनाई कटाई र मन्टेश्वरी तालिम लिइरहेका छन् ।
‘बचत खाता छोरीको सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत सरकारी विद्यालयमा पढ्ने छात्राको मासिक ४ हजार बैंक खातामा जम्मा गर्ने गरेको छ । हालसम्म एघार सयभन्दा बढी छात्राहरुको बैंक खातामा ४ हजारका दरले पैसा जम्मा गरिरहेको उनको भनाइ छ ।
रोजगारी गुमाएकालाई उद्यमी बन्न बिना ब्याज ऋण
कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारीका लागि केही आधार दिएको छ । विशेषगरी रोजगारी गुमाएर परदेशबाट फर्केका, स्वदेशमै पनि रोजगारी गुमाएकाहरुलाई बिना व्याज ३ लाख रुपैयाँ ऋण कार्यविधि बनाएर सञ्चालन गरिरहेको छ ।
जसअन्र्तगत २ सय ६५ जनाले ऋण लिइसकेका छन् । यो कार्यक्रम मेयर उद्यमशीलता कार्यक्रम हो ।
पर्यटकीय क्षेत्रलाई विकास गर्दै
धार्मिक साँस्कृतिक एवम् ऐतिहासिक रुपमा लिएको चाँगुनारायण मन्दिरलाई हजार सिढीका रुपमा विकास गरिरहेको छ ।
‘चाँगुनारायणमा रहेको सिढीलाई कायम गरेरै नगरपालिकाले हजार सिढीको अवधारणा ल्याएको थियो’ उनले समग्र समाचारलाई भनिन्, ‘हालसम्म ८ सयभन्दा बढी सिढीहरु राखिएको छ ।’
वडा नम्बर ८ मा रहेको सरस्वती थान, ३ नम्बर वडामा रहेको जोत्रिलिङ्गेश्वर, मोहनपोखरी लगायतका पर्यटकीय तथा धार्मिक स्थानहरु रहेका छन् । त्यस्तै तेलकोट हुँदै नगरकोट भट्टीडाँडा पुग्ने बाटो विस्तार गरेको छ । जुन जंगल र पानीका छहरा हुँदै पुग्न सकिन्छ । यी धार्मिक स्थललाई पर्यटकीय गन्तव्यसम्म पु¥याउन नगरपालिका लागि परेको छ ।
प्रकाशित समय : १६:३७ बजे






















