निर्माणका “नौ विधा” र आधुनिक नेपालमा सार्वजनिक निर्माणको इतिहास

वि.सं.२०७८ वैशाख २७ सोमवार

२७ वैशाख,काठमाडौं । नेपालमा पूर्वाधार विकासको इतिहासले करिब १२० वर्षमा प्रवेश गरेको छ । इतिहास हेर्दा, सुरुआती इतिहासमै पूर्वाधार निर्माणका पाइलाले आफ्नो विधा स्पष्ट रुपमा समातेको देखिन्छ । भवन, सडक, पुल , जलविद्युत्, सुरुङ मार्ग, रोप–वे, नहर र रेल–वे आजका विधा होइनन् । जबकि, जलविद्युत् विकासमा नेपाल दक्षिण एसियामै अग्रणी थियो । वि.सं. १९६४ मा फर्पिङमा निर्मित ‘चन्द्रज्योती जलविद्युत्’ निर्माण हुँदा आजको इन्डिया ब्रिटिस कोलोनीका रुपमा उनीहरुले खटाएको विकासे भीखमा भरपरिरहेको थियो ।
नेपालमा सार्वजनिक निर्माण कार्यको लागि अलि व्यवस्थित रुपमा शुरुवात भएको वि.सं. १९६० साल पछाडिबाट नै हो । वि.सं. १९४२ सालमा विर शमशेरले आफ्नै काका रणद्धिप सिंहको हत्या गरी सत्ता आफ्नो हातमा लिए पछि सत्ताको लागि खिचातानी अलि कम भयो । त्यसपछि थोरै भए पनि सार्वजनिक निर्माणकार्यहरु हुन थाले ।
काठमडौंमा खानेपानीको लागि विर धारा, स्वास्थ्य परिक्षणको लागि विर अस्पताल, घण्टाघर, सेतो दरबार जस्ता सार्वजनिक निर्माणका कार्यहरु भए ।
तर राजधानी काठमाडौ मा मात्र भएको सिमित विकासले देशका दुर दराजमारहेका गाउँ वस्तीहरुमा कुनै भौतिक विकासका निर्माण कार्यहरु हुन सकेन । जसको फलस्वरुप देश धरै कालसम्म ढुंगे युगमै रहिरह्यो । भौतिक पुर्वाधारको मेरुदण्डको रुपमा रहेको सडक, भवन, सिचाई, जलविद्युत जस्ता पुर्वाधारहरु नेपालमा पनि विश्व परिवेश को सँग सँगै जस्तो सुरुवात त भयो । तर यसले समयको क्रमसँगै निरन्तरता नपाउँदा देश भौतिक पुर्वाधारको क्षेत्रमा अन्य मुलुकको तुलनामा निक्कै पछाडि पर्यो । विश्वको धेरै मुलुकहरुमा ठूला ठूला राजनीतिक क्रान्ति भई राजनीतिक स्थिरता भए पछि देशले विकास निर्माणको फड्को मारेको देखिन्छ । तर नेपालमा बारम्बार ठूल-ठूला राजनीतिक परिवर्तन भए तर देशले राजनीतिक स्थिरता प्राप्त गर्न सकेन । जसको प्रत्यक्ष असर देशको सार्वजनिक निर्माणमा पर्यो ।
निर्माणका नौ विधा: हामीले सार्वजनिक निर्माणलाई विभिन्न विधामा छुट्याउदा यसलाई नौ विधामा छुटयाउन सक्छौ ।
१) सडक
२) भवन
३) नहर
४) पुल
५) सुरुङ मार्ग
६) जलविद्युत (बाँध, प्रसारण लाइन, सबस्टेशन, विद्युतीकरण)
७) रोपवे
८) रेलवे
९) विमानस्थल
१) सडक –
नेपालमा वि.सं. १९९४ सालमा काठमाडौंको नयाँसडक (New Road) र टुँडिखेलको वरिपरि पहिलो पटक पक्की पिच गरिएको थियो । तस्बिरमा देखिएको फोटोमा थोरै भाग पिच गर्न छोडेको छ । पिच बाटोमा घोडा चढदा घोडा चिप्लिने डर भएको कारण घोडा दौडाउन सो ठाउ कच्चि छोडिएको थियो । त्यसैगरी पहिलो पटक विसं. १९८४ मा अम्लेखगंजबाट भिमफेदी सम्म गाडी गुडन योग्य कच्ची सडक निर्माणगरी सवारी साधन चलाइएको थियो । त्यसैगरी भारत सरकारको सहयोगमा वि.सं. २०११ बाट शुरु गरी २०१३ मा काठमाडौंको त्रिपुरेश्वर देखि रक्सौल सम्म १८९ कि.मि. सडक निर्माण गरिएको थियो ।
२) भवन-
नेपालमा पहिलो पटक अत्याधुनिक भवन वि.सं. १९६५ मा काठमाडौंमा बनाइयो । करिब १००० कोठा भएको सो भवनलाई ‘सिंहदरबार’ नामाकरण गरियो । त्यसबखत करिब ५० लाख रुपैया खर्चगरी बनाइएको सो भावन निर्माण गर्न चुना सुर्की मासको दाल जस्ता कच्चा पदार्थको प्रयोग गरिएको थियो । काठको लागि काठमाडौं जंगलको वरिपरि र तराईका जंगलहरुबाट कटान गरी काठमाडौं सम्म ल्याइएको थियो । त्यस समयमा सो भवन नेपालको मात्र होइन पुरै एशियाकै दरबारमध्येको ठूलो र भव्य मानिन्थ्यो ।
३) नहर-
वि.सं. १९७९ मा निर्माण शुरु गरी १९८४ मा निर्माण सम्पन्न भएको चन्द्रनहर हालको उदयपुर त्रियुगा नदीलाई डाइभर्सन गरी नहर निकालिएको थियो । चार वटा शाखा नहर र मुल नहरको ३३ वटा आउटलेटबाट सत्तरीको झण्डै दश कजार पाँचसय हेक्टर जमिनमा सिचाइ गर्ने उद्देश्यले निर्माण गरिएको थियो । श्री ३ चन्द्र शमशेरको पालामा निर्माण गरिएको हुँदा यसलाई चन्द्रनहर नामाकरण गरिएको थियो । भने यसको डिजाइन ई. दिलजंग थापाले गरेका थिए ।
४) पुल-
वि.सं. १९८४ मा निर्माण गरिएको चन्द्र ब्रिज काठमाडौंको बागमती नदीमा थापाथलीबाट पाटनमा आवत जावत गर्न सजिलो होस् भन्ने हेतुले निर्माण गरिएको थियो । पिल्लर निर्माण गर्नको लागि चुना र चुर्खीमा इटाको वाल लगाएर निर्माण गरिएको थियो । भने स्पान चाहि स्टिलबाट बनाइएको थियो । सो पुलको लागि आवश्यक स्टिल बेलायतबाट मगाइएको थियो । भारतको भुभागमा रेल बाट ढुवानी गरी नेपालको भुभागमा भरियाबाट ढुवानी गरी काठमाडौ ल्याई पु¥याइएको थियो । यो पुल नै नेपालको पहिलो पक्की पुल थियो ।
५) सुरुङ मार्ग-
वि.सं. १९७४ मा अमलेखगंज देखि भिमफेदी सडक मार्ग निर्माण गरियो । सो सडक निर्माण सँगै चुरियाको डाँडामा सडक बनाएर गाडी चलाउन अप्ठयारो भएको हुँदा चुरिया पहाडमा सुरुङ बनाउनु पर्ने आवश्यकता प¥यो । सो कुरा तत्कालिन चन्द्र शमशेरलाई जाहेर गरियो ।
उनले सुरुङ बनाउन आदेश दिए । यसको लागि नेपालकै पहिलो ईन्जिनियर कर्णेल डिल्लीजंग थापालाई दिइयो । उनी सो सुरुङ मार्ग बनाउन तयार भए । जब उनी सुरुङ मार्ग बनाउने योजनामा लागे उनलाई एकरात सपनामा देवीले मेरो मन्दिर बनाएर मात्र सुरुङ बनाउ भने । त्यसपछि उनले सुरुङ बनाउने छेउमा चुरियामाई देवीको मन्दिर स्थापना गर्दै पुजा आजा गरी निर्माण कार्य शुरु गरे ।
यसको सम्पूर्ण डिजाइन ईन्जिनियर कर्णेल डिल्लीजंग थापालेनै गरेका थिए । १६०० फिट लम्बाई १२ फिट उचाई ९ फिट चौडाइको सुरुङ मार्गमा ९ फिट चौडा बाटोमा गाडी आउदा पैदल मानिसहरुलाई सुरक्षीत गर्नको लागि केही मिटरको फरकमा मानिसलाई छेकिने व्यवस्था गरिएको थियो । सुरुङमार्गलाई बलियो बनाउन चुना, सुर्की प्रयोग गरि मजबुत गरिएको थियो ।
सो सुरुङ मार्ग निर्माण गर्न केही आवश्यक सामानहरु बेलायतबाट मगाए पनि अरु सम्पूर्ण प्रविधि, श्रम, सिप र निर्माणका सामाग्रीहरु नेपाली नै प्रयोग भएको थियो । सो सुरुङ निर्माण पश्चात त्यहाँबाट घोड सवारी, हात्ती सवारी, गाडी , पैदल यात्रीहरुलाई आवतजावत गर्न सजिलो भएको थियो । सो सुरुङमार्ग निर्माण भएपछि नेपाली जनजिब्रोमा यस्तो चर्चित लोकभाका थियो ।
हाम्रा राजा छन् अक्कल दारी ।
सडक खने चुरिया भ्वाङ पारी ।
६) जलविद्युत (बाँध, प्रसारण लाइन, सबस्टेशन, विद्युतीकरण) –
बेलायत फ्रान्स जस्ता देश घुमेर आएका श्री ३ चन्द्रशमशेरलाई त्यहाँ देखेको बिजुली बत्तीले आकर्षित गर्यो र सो को सिको गर्दै वि.सं. १९६४ मा फर्पिङ्गमा चन्द्रज्योती जलविद्युत आयोजना निर्माण गर्नको लागि नेपाल सरकारले बेलायत सरकारसँग प्राविधिक सहयोग माग्यो । नेपाल सरकारको लगानी र बेलायत सरकारको प्राविधिक सहयोगमा आयोजना सुरु भयो ।
यसको लागि बेलायत बाट ११ जना प्राविधिकहरु नेपाल आएका थिए । तिनै प्राविधिकहरुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको थियो । त्यसलाई चाहिने सबै हाइड्रो मेकानिकल सामाग्रीहरु बेलायतबाट मगाइएको थियो । ती सामग्रीहरु नेपाल आइसकेपछि भरियाहरुबाट बोकाएर फर्पिङ्ग पु¥याइएको थियो । २५० कि.वा. क्षमताको दुई वटा टर्वाइन राखेर ५०० कि.वा. उत्पादन गरिएको थियो ।
रु. ७,१३,२७३/८२ पैसा लागतमा निर्माण सम्पन्न गरिएको सो आयोजनाबाट उत्पादित विजुली पहिलो पटक पावर हाउसबाट सिधै दरबारमा बत्ती जोड्दा केही अशुभ होलाकि भनेर पहिले खोकनाको सिद्धिलाल डंगोलको घरमा बत्ती बालिएको थियो ।
सो जलविद्युत आयोजनाको उद्घाटन १९६८ जेठ ९ गते सोमबार साँझको ६ः३० मा तत्कालिन श्री ५ पृथ्वीविरविक्रम शाहले टुँडिखेलको खरिको बोटबाट गरेका थिए । सो उत्पादित विजुली पहिला राणाहरुको दरबारमा मात्र जोडिएको थियो ।
सर्वप्रथम सो विजुलीलाई सिंहदरबार भित्र राणाहरुले नाटक र थिएटर देखाउनको लागि निर्माण गरिएको भवनमा बालिएको थियो ।
राणा शासनको अन्त पछि सो भवनलाई प्रतिनिधि सभाको लागि प्रयोग गरियो । सो विजुली सर्वसाधारण जनताको लागि वि.सं. १९७१ देखि मात्र खुल्ला गरिएको थियो ।
७) रोपवे-
नेपालमा पहिलो पटक रोपवे काठमाडौंको हलचोकबाट लैनचौर सम्म संचालन गरिएको थियो । जसबाट हाल हलचोकमा रहेको सशस्त्र प्रहरी मुख्यालय रहेको ठाउँको ढुंगाखानी बाट लैनचौरसम्म त्यहाँ उत्खनन गरिएको ढुंगा ओसार पसार गरिन्थ्यो ।
पछि पहिलो विश्वयुद्धमा सैन्य सहयोग गरे वापत बेलायत सरकारले उपलब्ध गराएको रु. २१ लाख रकम बाट चन्द्र शमशेरले रक्सौल–अमलेखगंज रेल, अमलेखगंज भिमफेदी सडक, वि.सं. १९७९ मा भिमफेदी (धोर्सिंग) मातातिर्थ सम्म २२ कि.मि. रोपवे निर्माण गर्न लगाएका थिए ।
यो रोपवेलाई विश्वकै लामो रोपवे भनि त्यतिवेला प्रकाशित हुने विश्वका धेरै अखबारहरुले प्राथमिकताका साथ समाचार बनाएका थिए । पछि यो रोपवेलाई वि.संं १९९३ मा जुद्ध शमशेरले टेकु स्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए । २०१६ सालमा अमेरिकी सहयोगमा रु ६४ लाख खर्च गरेर हेटौडाको चौकि टोलदेखि काठमाडौको टेकु सम्म सो रोपवे को स्तरउन्नति र विस्तार गरिएको थियो । जसको लम्बाई ४२ कि.मि. थियो । त्यो रोपवेमा ८ टर्मिनलको साथै ७ स्टेशन पनि थिए ।
३६० डिब्बा सामान ओसार्न प्रयोग हुन्थे । झण्डै १ हजार मानिसलाई रोजगारी दिएको सो रोपवेले विहान देखि बेलुका सम्म झण्डै २५० टन सामान ओसाथ्र्यो । त्यो समयमा एक केजी सामान ढुवानी गर्न एक पैसा लाग्दथ्यो । वि.सं. १९७९ तिर त झन एक पैसामै सामानहरु ओसार पसार गरिन्थ्यो ।
वि.सं. २०५४ सालमा सो रोपवेको भैसेस्थित सवस्टेशनमा समस्या आयो । ट्रान्सफरमर बिग्रेपछि मर्मत गर्न ४–५ लाख आवश्यक पर्यो । तर सरकारले सो रोपवे मर्मत गर्न चासो राखेन । जसका कारण रोपवे बन्द भयो । बन्द भएका दिनमा चलिरहेका डिब्बा जहाँ जहाँ आइपुगेका थिए आज पनि ति डिब्बाहरु त्यही झुण्डिरहेका छन् ।
२०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा सो रोपवेलाई खारेजी गर्ने निर्णय गर्यो र यसरी ऐतिहासिकता बोकेको धरोहरको अवसान गराइयो ।
८) रेलवे- वि.सं. १९८४ मा तत्कालिन श्री ३ चन्द्रशमशेरले रक्सौल देखि अमलेखगंज सम्म ७६२ एम एम न्यारो गेजको बाफ (स्टिम) इन्जिन बाट संचालन हुने रेलमार्ग को निर्माण गर्न लगाए । सो रेल निर्माण गर्न कलकत्ताको मार्टिन एण्ड कम्पनीलाई छनौट गरिएको थियो ।
रक्सौलदेखि अमलेखगंज सम्म २४ माइल करिब ३९ कि.मि. को रेल मार्ग सो कम्पनीले समग अगावै सम्पन्न गरेको थियो । निर्माण पश्चात सो रेलसेवाको उद्घाटन राजा श्री ५ त्रिभुवनले गरेका थिए । उद्घाटनको लिखित मन्तव्य राजा त्रिभुवनलाई पढन नदिई सो रोल निर्माण गर्ने निर्माण कर्ता मार्टिन एण्ड कम्पनीका प्रतिनिधिलाई बाचन गर्न दिइएको थियो ।
सो रेल सेवालाई ‘Nepal Government Railway’ नामाकरण गरि संचालनमा ल्याइएको थियो । सो रेललाई ब्रिटिस भारतको बंगाल–नागपुर–रक्सौल सम्म आएको रेलमार्गसँग कनेक्सन गरि संचालन गरिएको थियो ।
नेपालमा रेल आएको घटनालाई संसारभरबाट प्रकाशित हुने अखबारहरुले रोचक ढंगले प्रकाशित गरेका थिए । सो रेल सेवा संचालनमा आएको १० वर्ष पछि वि.सं. १९९४ मा श्री ३ जुद्धशमशेरको पालामा भारतको जयनगरदेखि नेपालको जनकपुर सम्म रेलमार्ग निर्माण गर्न लगाएका थिए । त्यतिबेला पहाडको कुना कन्दरा सम्म सो रेलको बारेमा गीत, कथा वा किम्बदन्ती बनेको थियो ।
सालको पात भुँइझरे कुहिन्छ ।
रेलमा चढे बिरगंजा पुगिन्छ ।
९) विमानस्थल-
नेपालको पहिलो विमानस्थल काठमाडौंको ठूलो गौचरणमा निर्माण गरिएको थियो । वि.सं. २०१२ सालमा यसलाई विधिवत रुपमा त्रिभुवन विमानस्थल नामाकरण गरी संचालनमा ल्याइएको थियो । सो समय भन्दा अगाडि पनि सो विमानस्थल सुचारु नै थियो । यसरी नेपालमा सार्वजनिक निर्माणका कार्यहरु विश्वका अन्य विकसित मुलुकहरुले शुरु गरेकै समयबाट भएको हो । तर ती निर्माण कार्यहरुले निरन्तरता प्राप्त गर्न सकेनन् ।
एशिया महादेशकै दोस्रो जलविद्युत आयोजना वि.सं. १९६४ मै निर्माण भए पनि आजसम्म पनि देशलाई चाहिने विजुली उत्पादन गर्न सकेको छैन । त्यसैगरी सडक, नहर, भवन, सुरुङमार्ग, रेल्वे जस्ता भौतिक पुर्वाधारका आधारभुत निर्माण कार्यहरु नेपालमा दु्रत गतिमा अगाडि बढाउन सकिएको छैन । आज भन्दा झण्डै १०० वर्ष अघि नै निर्माण गरिएका यी संरचनाहरुलाई त्यस पछि पनि निरन्तर रुपमा अघि बढाइएन । जसले गर्दा नेपाल पछौटे पनको शिकार भइनै रह्यो ।
निरन्तरको राजनीतिक अस्थिरता, माओवादी द्वन्द, नेताहरुको सत्ता लिप्सा, पुँजीगत खर्च भन्दा साधारण खर्च बढी हुनु, निर्माण कार्य गर्नको लागि निर्माण मैत्री ऐन, कानुनहरु बनाउन नसक्नु, नेपालका निर्माण कार्यमा क्षमता अभिबृद्धि हुन नसक्नु, राज्य र कर्मचारी तन्त्रले निर्माण व्यवसायीलाई नजरअन्दाज गर्दा नेपालमा सार्वजनिक निर्माण कार्य द्रुत गतिमा अघि बढन सकेन ।
राज्यले निर्माण सम्बन्धी ऐन कानुनहरु निर्माण मैत्री बनउन नसक्नु र बनाएका ऐन कानुनहरु पनि कडाइका साथ लागु गर्न नसक्दा हाल नेपालको सार्वजनिक निर्माण कार्यहरु अलपत्र अवस्थामा छन् । नेपालमा नेपाली निर्माण व्यवसायी मात्र होइन विदेशका विदेशी निर्माण कम्पनीहरु पनि नेपालको सार्वजनिक निर्माण कार्यहरुमा निरिह देखिएका छन् ।
मेलम्ची खानेपानी आयोजना, हुलाकी सडक, अपर तामाकोशी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नति गर्ने जस्ता कार्यहरुमा विदेशका स्थापित निर्माण कम्पनीहरुले समेत निर्माण कार्य गर्न सम्पन्न गर्न नसकेर ठेक्काहरु तोडिएका छन् । यसरी हेर्दा हाम्रा सार्वजनिक निर्माण कार्यहरु सम्पन्न गर्न गराउन कतै हाम्रै क्थकतझ त बाधक छैन ? यो सोचनिय विषय हो ।
निष्कर्ष → नेपालका सार्वजनिक निर्माण कार्यहरुलाई कसरी द्रुत गतिमा अघि बढाउने अनि ती निर्माण कार्यहरुलाई समयमै सम्पन्न गर्नको लागि के कस्ता रणनीतिहरु अपनाउने हो त्यसको एउटा खाका बनाई नेपालको भौतिक पूर्वाधार निर्माणलाई गुणस्तरीय र दिगो भौतिक पुर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो ।लेखक प्रमोद लामिछाने नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित समय : १०:२३ बजे