back
Naima

तातोपानी नाका ठप्प हुँदा व्यवसायीको अर्बौं लगानी जोखिममा : रामचन्द्र पराजुली

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ । विशेषगरी चीनसँगको मुख्य व्यापारीक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अर्बौं रुपैयाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन् ।

यसले व्यवसायीको लगानी जोखिममा पारेको मात्रै होइन, सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पु¥याएको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले  नेपाल–चीन व्यापारको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताए ।

उनका अनुसार नेपाल र चीनबीच स्थल, जल र हवाई गरी तीन माध्यमबाट व्यापार हुने भए पनि अधिकांश आयात–निर्यात स्थलमार्गमै निर्भर छ । ‘बर्खायाम सुरु भएयता उत्तरी नाकाबाट हुने व्यापार निकै प्रभावित भएको छ । बाढी र पहिरोका कारण चीनबाट आउने सामान सहज रूपमा नेपाल भित्रिन सकेका छैनन् । यसले व्यवसायीको लगानी रोकिएको छ भने राज्यले उठाउने राजस्वसमेत प्रभावित भएको छ,‘ उनले भने ।

पराजुलीका अनुसार अरनिको राजमार्ग हुँदै सञ्चालन हुने तातोपानी नाका गत असारदेखि नै प्रभावकारी रूपमा बन्द छ । डाक्लाङ र इको क्षेत्रमा गएको ठूलो पहिरोका कारण आयात र निर्यात दुवै ठप्प बनेका छन् । नाका बन्द भएपछि अर्बौं रुपैयाँ मूल्यका सामान चीनतर्फ, सीमाक्षेत्रमा तथा भन्सार यार्डमा रोकिएका छन् । ‘कतिपय सामान चीनकै भूभागमा छन्, कतिपय नेपालतर्फका गोदाममा थन्किएका छन् । तातोपानीबाट एक थोपा सामान पनि नेपाल भित्रिएको छैन,‘ उनले बताए ।

तातोपानी नाका बन्द भएपछि आयात व्यापारको ठूलो हिस्सा रसुवागढी नाकातर्फ मोडिएको छ । यद्यपि रसुवागढी पूर्ण रूपमा बन्द नभए पनि सडक अवस्थाका कारण बेलाबेला अवरुद्ध हुने गरेको छ ।

उनका अनुसार तातोपानीबाट आउने सामान रसुवागढी हुँदै ल्याउन थालिएपछि त्यहाँ अस्वाभाविक रुपमा चाप बढेको छ । यसले ढुवानी भाडादेखि अन्य लजिस्टिक खर्चमा वृद्धि गरेको छ । ‘रसुवाबाट सामान आइरहेको छ, तर तातोपानीको चाप पनि त्यहीँ पुगेपछि भाडा बढ्ने, ढुवानीमा ढिलाइ हुने र लागत वृद्धि हुने समस्या देखिएको छ,‘ उनले भने ।

पराजुलीका अनुसार तातोपानी क्षेत्रमा पर्याप्त पार्किङ तथा भण्डारण पूर्वाधारको अभावले समस्या थप जटिल बनेको छ । पहिरोका कारण धेरै कन्टेनर बाटोमै रोकिएका छन् भने भन्सारको आइसिडी क्षेत्रसमेत जोखिममा परेको छ ।

हालै सुख्खा पहिरो जाँदा केही कन्टेनर क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले कतिपय स्थानमा रोकिएका कन्टेनर कुनै पनि बेला थप पहिरोमा बग्न सक्ने जोखिम रहेको बताए । ‘हामीले कन्टेनर सुरक्षित राख्ने ठाउँसमेत पाएका छैनौं । कन्टेनरभित्रका सामान पनि जोखिममा छन् । कतिबेला पहिरोले बगाउने हो भन्ने चिन्ता छ,‘ उनले भने ।

दशैं–तिहार लक्षित सामान रोकिँदा व्यवसायी चिन्तित

नेपालमा चीनबाट आयात हुने अधिकांश वस्तु चाडपर्व लक्षित तथा फेसनेबल प्रकृतिका हुन्छन् । अहिले बाटोमा रोकिएका सामानमध्ये धेरै दशैं, तिहार र तीज लक्षित रहेको पराजुलीले बताए ।

‘व्यवसायीले सिजनलाई लक्षित गरेर सामान ल्याएका हुन्। तर दुई महिनादेखि बाटोमै रोकिँदा लगानी नै फ्रिज भएको छ । समयमा बजारमा सामान नआए व्यवसायीले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था छ,‘ उनले भने ।

यसको असर उपभोक्तामा समेत पर्ने उनको भनाइ छ । चाडपर्वका बेला बजारमा उपलब्ध हुने सामग्रीको अभावसँगै मूल्यवृद्धिको दबाब बढ्न सक्ने उनले बताए । ‘सामान ढिला आइपुग्दा डिटेन्सन, डेमरेज, ढुवानी तथा अन्य अतिरिक्त खर्च थपिन्छन् । ती सबै लागत अन्ततः उपभोक्तामाथि नै जाने भएकाले केही प्रतिशत मूल्यवृद्धि हुने निश्चित छ,‘उनले भने ।

वैकल्पिक नाका सञ्चालनको माग

नेपाल–चीन व्यापारलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप नाका सञ्चालन गर्नुपर्ने आवश्यकता पराजुलीले औंल्याए । हाल तातोपानी, रसुवागढी र कोरोला नाका सञ्चालनमा रहेको भएपनि अन्य सम्भावित नाकाको विकासमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

दोलखाको लामाबगर, गोरखा तथा हुम्ला क्षेत्रका नाकालाई सञ्चालनमा ल्याउन व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएका छन् । विशेषगरी लामाबगर नाका सञ्चालनको सम्भावना अध्ययन भइरहेको उनले जानकारी दिए । ‘तीन नाकामा मात्र निर्भर हुँदा एउटा बन्द भए सम्पूर्ण व्यापार प्रभावित हुन्छ। त्यसैले थप नाका खोल्नु अहिलेको आवश्यकता हो,‘उनले भने ।

पूर्वाधार सुधारमा जोड

महासचिव पराजुलीले सडक, भन्सार यार्ड, आइसिडी, पार्किङ र लजिस्टिक पूर्वाधार सुधार नगरी नेपाल–चीन व्यापारलाई दिगो बनाउन नसकिने बताए । संघले विभिन्न मन्त्रालय, विभाग, सांसद र सरकारी निकायसँग पटक–पटक छलफल गर्दै आएको उनको भनाइ छ ।

हालै संघका पदाधिकारीहरू तातोपानी पुगेर स्थलगत निरीक्षणसमेत गरेको उनले बताए । ‘स्थिति निकै जटिल छ । पहिरो पार गरेर जोखिमपूर्ण रूपमा स्थलगत अध्ययन गर्नुपरेको थियो,‘ उनले भने ।

चीनमा ठूलो बजार, तर नेपालको उत्पादन क्षमता कमजोर

पराजुलीका अनुसार चीनले नेपालबाट आयात गर्न सकिने ८ हजारभन्दा बढी वस्तुमा सहुलियत दिएको छ । तर नेपालको उत्पादन क्षमता कमजोर भएकाले त्यसको पर्याप्त लाभ लिन सकिएको छैन ।

उनले मासुजन्य वस्तु, सिट्रस फलफूल, कृषि उत्पादन, चिया तथा हस्तकलाका सामग्री चीनमा ठूलो सम्भावना बोकेका क्षेत्र भएको बताए । तर अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशाला, गुणस्तरीय उत्पादन र निर्यात पूर्वाधार अभावले निर्यात विस्तारमा बाधा पुगेको उनको भनाइ छ । ‘चीनमा विशाल बजार छ । गुणस्तरीय उत्पादन गर्न सक्यौं भने नेपाली कृषि तथा हस्तकलाका वस्तुको निर्यात उल्लेखनीय रूपमा बढाउन सकिन्छ,‘ उनले भने ।

उनका अनुसार हाल नेपालबाट चिया, हस्तकलाका सामग्री, तामाका भाँडाकुँडा, मुडा तथा केही खाद्यवस्तु चीन निर्यात भइरहेका छन् । तर व्यापार सन्तुलन कायम गर्न नेपालले उत्पादन क्षमता र निर्यात पूर्वाधार विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

अटोमोबाइल केवल व्यापार होइन पूर्ण इकोसिस्टम हो : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२

काठमाडौं। पछिल्ला केही वर्षयता विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को गम्भीर...

पेट्रोलमा इथानोल मिश्रण योजना कागजमै सीमित : उद्यमी खरेल

पेट्रोलमा इथानोल मिश्रण योजना कागजमै सीमित : उद्यमी खरेल

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१४

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति ल्याएको...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २० बुधवार ०९:११

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो...

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५६

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास...

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

कियान केमिकल्सको ११ अर्बको मेगा प्रोजेक्टः इथानोलमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य

वि.सं.२०८३ साउन १८ सोमवार ०९:४१

काठमाडौं । नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने...

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...