३५ वर्षपछि सहजपुर–बोगटान सडकको ट्र्याक जाडिएपछि स्थानीयको रहेन खुसिको सिमा
वि.सं.२०७८ असोज ४ सोमवार
डोटी । डोटी जिल्लाको सहजपुर–बोगटान सडक निर्माण सम्पन्न भएको छ । जिल्लाको सबैभन्दा पुरानो सडक करिब ४ करोडको लगानीमा बनेको हो ।
सडक निर्माण सम्पन्न भएसँगै यहाँका स्थानीयहरुमा खुसि छाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका अनुसार यो सडक तीन करोड ८३ लाखमा करिब ३५ वर्षपछि जोडिएको हो ।
उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं २०४३ देखि सडक निर्माण सुरुआत भएको बताइएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताए । सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटकपटक निर्देशन समेत दिएका थिए ।
सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिदैँ आइरहेको बेला आफुहरुले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न हुन समस्या नभएको बताए ।
प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “कच्ची ट्र्याक जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।”
कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।” उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् ।
सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने जनाउँदै किसान बढी खुसी भएको स्थानीयवासी टक्करबहादुर कलेलले बताए । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार (हल्दी) तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो । विसं २०१५ पछि धनगढीबाट दिपायलका लागि यो सडक काम सुरु गरिएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’ को नामले निर्माण सुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल ९डिडीडी०’ नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपककुमार विष्टले बताए ।
विसं २०४३ मा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हाल प्रदेश सभासदस्य भरतबहादुर खड्काले उक्त सडकको शिलान्यास गरेका थिए ।
२०७८ असोज ४ गते प्रकाशित
प्रकाशित समय : १२:१० बजे






















