भारतको नयाँ बजेट सार्वजनिक: नेपाललाई ८ सय करोड भारु अनुदान
वि.सं.२०८२ माघ १८ आइतवार
भारत । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/०२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (भारु) अनुदान दिने घोषणा गरेको छ। आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संघीय संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपालका लागि उक्त रकम विनियोजन गरिएको हो।
भारतले विनियोजन गरेको यो अनुदान रकम नेपाली रुपैयाँमा करिब १२ अर्ब ८० करोड हुन आउँछ। यो रकम गत वर्षको सुरुवाती विनियोजनकै बराबर हो। गत आर्थिक वर्षमा पनि भारतले सुरुमा ८ सय करोड भारु नै विनियोजन गरेको भए पनि पछि त्यसलाई संशोधन गरेर ८ सय ३० करोड पुर्याएको थियो। चालू आर्थिक वर्षमा भारतले नेपाललाई ८ सय ३० करोड भारु नै उपलब्ध गराउने संशोधित अनुमान बजेटमा उल्लेख छ।
भुटानलाई सबैभन्दा बढी सहायता, अन्य छिमेकीको अवस्था यस्तो छ:
भारतले आफ्नो वैदेशिक सहायता अन्तर्गत छिमेकी मुलुकमध्ये सबैभन्दा ठुलो हिस्सा भुटानलाई प्रदान गर्दै आएको छ। आगामी वर्षका लागि भारतले भुटानलाई २ हजार २ सय ८८ करोड भारु अनुदान दिने घोषणा गरेको छ, जुन चालू आर्थिक वर्षको १ हजार ९ सय ५० करोडको तुलनामा उल्लेख्य वृद्धि हो।
भारतको आगामी बजेटमा अन्य मुलुकहरूका लागि विनियोजित अनुदान
मालदिभ्स ५ सय ५० करोड भारु
श्रीलंका: ४ सय करोड भारु
म्यानमार: ३ सय करोड भारु
अफगानिस्तान: १ सय ५० करोड भारु
बंगलादेश: ६० करोड भारु
मंगोलिया: २५ करोड भारु
अफ्रिकी मुलुकहरू: २ सय २५ करोड भारु
भारतले हरेक वर्ष आफ्नो वार्षिक बजेटमार्फत छिमेकी तथा अन्य मित्र राष्ट्रहरूलाई विभिन्न विकास आयोजना र क्षमता विकासका लागि यस्तो अनुदान उपलब्ध गराउँदै आएको छ।
प्रकाशित समय : १७:५७ बजे





















