back

अर्थतन्त्र मन्दीमा जान थालेपछि तनावमा उद्योगी, आत्मदाह गर्नेसम्मका चेतावनी

‘आफ्ना छोरा नातिसम्मलाई कालो सूचीमा पारेर कलंकको दाग बोक्नुभन्दा सडकमा जुत्ता छरेर त्यसैमाथि आत्मदाह गर्नु उचित हुन्छ’ : उद्योगी

काठमाडौं । बिहीबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरेर जुत्ता उत्पादकहरूले सडकमा आत्मदाह गर्ने चेतावनी दिए । ‘आफ्ना छोरा नातिसम्मलाई कालो सूचीमा पारेर कलंकको दाग बोक्नुभन्दा सडकमा जुत्ता छरेर त्यसैमाथि आत्मदाह गर्नु उचित हुन्छ’ उद्योगीले सार्वजनिक रूपमा भनेका छन् ।

५० हजारभन्दा धेरैलाई रोजगारी दिएको, देशलाई जुत्ता चपलमा लगभग आत्मनिर्भर बनाएको र यस्ता सामानको निर्यात गरेर डलर कमाउन थालेका उद्योगीहरू अहिले यस्तो पीडामा डुब्नुको कारण हो, गरिदिँदै गएको आर्थिक मन्दी ।

अहिले बजारमा हरेक वस्तुको समष्टिगत माग घटेको छ । बैङ्क तथा वित्तीय संस्थाले एक वर्षअघिदेखि नै खासै नयाँ ऋण प्रवाह गर्न सकिरहेका छैनन् ।

शेयर बजार ओरालो लागेको लाग्यै छ । घरजग्गाको किनबेच धेरैजसो स्थानमा बन्द प्रायः भएको छ । बैङ्कले ऋण नदिँदा नयाँ घरहरू बन्न सकेका छैनन् । आयात कटौती र समष्टिगत माग घट्दा व्यापार घटेको छ । उद्योगहरूको उत्पादन कम भएको छ । थोरबहुत बजार पनि भारतबाट हुने तस्करीले ओगटिदिएका छन् ।

‘सकेसम्म सस्तो त सबैले खोज्छन्, तर तस्करी गरेर आउने सामानसँग नेपालमा उत्पादन हुने सामानले प्रतिस्पर्धा गर्नै सक्दैनन्’ उद्योगी भन्छन् । पहिले पहिले मान्छेसँग धेरै पैसा हुँदा आवश्यकताभन्दा धेरै सामान किन्थे ।

१ जोर जुत्ता हुनेले २ जोर किन्थे, एउटा मोबाइल बोके पुग्नेले पनि दुइटा मोबाइल बोक्थे । लत्ताकपडा बढी किन्थे । रेस्टुरेन्ट जाने, कफी खाने, खाजा खाने संस्कृति गज्जब विकास भएको थियो । जनस्वास्थ्यका दृष्टिले हानिकारकै भए पनि रक्सीको विक्री बढ्दा बजारलाई चलायमान भएको थियो ।

बैङ्कले जग्गा किन्न ऋण दिएको थियो । गाडी चढ्न ऋण, महँगा कम्प्युटरदेखि साइकलसम्म चढ्न ऋण दिएका थिए । बैङ्कले ऋण नदिए सहकारीहरूले दिन्थे, त्यो पनि सस्तो ब्याजमा । शेयर, घरजग्गाजस्ता सम्पत्तिको भाउ उकालो लाग्दा लाखौँ मान्छेले बसी बसी गज्जबको कमाइ गरेका थिए । बीमादेखि घरजग्गासम्म र म्यानपावरदेखि अन्तर्राष्ट्रिय दलालसम्मको सम्पत्ति खासै मिहेनत नगरीकनै बढेको बढ्यै थियो ।

तर अहिले एक वर्षदेखि बैंकमाा पैसाको अभाव भएपछि मान्छेहरूले निर्माणको काम गर्न सकेका छैनन् । सरकारको ढुकुटीमा कर्मचारीलाई तलब खुवाउने र सामाजिक सुरक्षामा खर्चने बाहेक पैसा निकाल्नै धौधौ छ । सरकारी राजस्व बढ्ने होइन, लक्ष्यको आधा पनि नउठ्ने हो की, भनेर चिन्ता बढेको छ । निर्माण कार्य रोकिँदा निर्माण क्षेत्रको ठुलो बजार प्रभावित भएको छ । मुलुकका मुख्य उद्योगहरू सिमेन्ट, डन्डीको माग भारी मात्रामा घटेको छ ।

क्रसर चलाएर नाफा कमाउनेहरू पनि हेरेको हेर्यै छन् । निर्माण मजदुरहरूको कमाइ बन्द भएको छ । चाउचाउ, बिस्कुट, चकलेट र हल्का पेय पदार्थदेखि सबैजसो औद्योगिक खाद्य उत्पादनको उपभोग कम भएको छ । आयात पनि कम हुने र आन्तरिक औद्योगिक उत्पादन पनि घट्ने अवस्थाले अर्थतन्त्रलाई मन्दीमा धकेल्न थालेको व्यवसायीहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले पटक पटक सार्वजनिक कार्यक्रमबाटै अहिलेजस्तो गम्भीर मन्दी आफ्नो जीवनकालमै नदेखेको र नभोगेको बताउँदै आएका छन् । उनले जस्तै अनुभव सबै वयोवृद्ध व्यवसायीसँग पनि छ । यो अवस्था लम्बियो भने देश गम्भीर आर्थिक सङ्कटमा फस्न सक्ने धेरैको बुझाई छ ।

१० वर्षअघि १७ खर्ब ५८ अर्ब (उपभोक्ताको मूल्यमा) रहेको रहेको नेपालको कुल गार्हस्थ्य उत्पादन गत साल नै ४८ खर्ब ५१ अर्ब नाघ्नुमा उत्पादनले होइन, रेमिटेन्स र बैङ्कको सुलभ ऋणले सघाएको थियो । मान्छेहरू विदेशमा गएर पसीना बगाएर कमाउने, त्यही पैसा नेपाल पठाउने, त्यही पैसाले आयात बढाउने, बैङ्कले वित्तीय बिचौलियाको काम गरेर कारोबारको आकार बढाउँदै जाने र त्यसै अनुसार आयातकर्तालाई सजिलै ऋण पनि दिइहाल्ने । यही चक्रमा नेपाली अर्थतन्त्र बेलुन फुकेजस्तै फुलेको थियो ।

गोल्डस्टार जुत्ताका मालिक अमिर प्रताप राणा भन्छन् कृषि उत्पादन हुने समथर फाँट र तराईका विशाल मैदान घडेरीमा टुक्रा टुक्रा हुने, पहाडका विशाल फाँटका खेत सडकले चिराचिरा पार्ने र त्यसमै कङ्क्रिटको जङ्गल उम्रिने अवस्था बन्यो । सिँचाइ सुविधा खासै सुध्रिएन । बरु मान्छेहरू गाउँको जग्गा बँझाएर विदेश हानिन थाले । नयाँ उद्योगहरू खुल्नेभन्दा पहिले भएका उद्योग धमाधम बन्द हुन थाले । निजी क्षेत्रले पनि पुँजी निर्माण गर्ने खालका आयोजनामा नभएर घरजग्गामै लगानी बढाए । बैङ्कले त्यस्तै अनुत्पादक क्षेत्रमा ऋण दिए ।

पोहोर धान फलिरहँदा १ लाखमा किनेको जग्गा यसपालि बाझिएपछि ३ लाखमा बेच्ने प्रवृत्ति बन्यो । जग्गाको उत्पादन र उत्पादकत्वमा कुनै वृद्धि नभई यसको भाउ मात्रै बढ्ने अवस्था आयो । उल्टै उत्पादन घट्ने, तर सट्ट बाजीले देशको अर्थतन्त्र सुन्निएको थियो । बेलुन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा आधाभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको छ । त्यसमा पनि सबैभन्दा धेरै र व्यापारको नाफाबाट आर्जन भएको सम्पत्ति हो ।

अर्थशास्त्रमा व्यापार मार्जिन भनिने यस्तो नाफा भनेको कुनै व्यापारीले २० रुपैयाँको सामान किनेर त्यही सामान ४० रुपैयाँमा बेच्यो भने बाँकी २० रुपैयाँ उसको मार्जिन हो । यसलाई मूल्य अभिवृद्धिका रुपमा पनि लिइन्छ । यसरी बिचौलियाको काममा हुने नाफा जोडेर अर्थतन्त्रको आकार बढेको देखिएको छ । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको आर्थिक उन्नति बढी भएको देखिन्छ । तर यस्ता क्षेत्रले धेरैभन्दा धेरै मान्छेलाई कङ्गाल बनाएर सीमित मान्छेलाईमात्रै धनी बनाउँछन् ।

अर्कातिर बजारमा समष्टिगत माग बढ्नका लागि सीमित मान्छेसँग होइन, बहुसंख्यम मान्छेसँग खर्च गर्न मिल्ने खालको आम्दानी वा सम्पत्ति बढ्नु पर्छ । त्यस्तो अवस्थामा मात्रै धेरै मान्छेले थोरै थोरै सामान किन्दा पनि बजारमा माग बढ्छ । १ लाख मान्छेले १–१ जोर जुत्ता बढी किने भने १ लाख जोर जुत्ता बढी बिक्छ । त्यसले २–३ वटा उद्योग धानिन सक्छन् । तर ३ करोड मान्छेको खल्तीको पैसा ३ सय मान्छेको बगलीमा पुग्यो भने त्यसले या त सम्पत्ति सञ्चय गर्छ, नभए पुँजी पलायन गराउँछ । यो दुवै अवस्थामा राज्यलाई नै घाटा हुन्छ ।

गत वर्षदेखि नै नेपालको वित्तीय क्षेत्र सङ्कुचनको दिशामा अघि बढेको थियो । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनको १०९ प्रतिशत पुगेको बैङ्किङ निक्षेप गत असार मसान्तसम्म आउँदा १०४.८ प्रतिशतमा र ९६.८ प्रतिशत पुगेको निजी क्षेत्रतर्फको कर्जा ९६.६ प्रतिशतमा खुम्चिएको थियो ।

अहिले पनि नेपालमा यस खालको आसन्न सङ्कटबाट पार लगाउने गरी नीतिगत एवम् व्यावहारिक सुधारका कदम अघि बढाउने छाँटकाँट नदेखिएको भन्दै व्यापारी व्यवसायीले गुनासो पोखिरहेका छन् ।

कोभिड र त्यसपछिको अन्तर्राष्ट्रिय व्यापार चक्रमा देखिएको जटिलताले अहिले नेपाली अर्थतन्त्रलाई पनि नराम्रोसँग प्रभावित बनाएको व्यवसायीहरू बताउँछन् । यो अवस्था लम्बिन नदिन व्यवसायीले बारम्बार सरकारको ध्यान तान्न खोजिरहेको छ ।

 

election

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा( पूर्णपाठ सहित)

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा( पूर्णपाठ सहित)

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

प्रहरीले पक्राउ गर्न ठिक्क परेका ठेकेदारलाई नै सरकारले दियो ३ अर्बको ठेक्का, यस्तो छ मुख्यमन्त्री र ठेकेदार कनेक्सन

प्रहरीले पक्राउ गर्न ठिक्क परेका ठेकेदारलाई नै सरकारले दियो ३ अर्बको ठेक्का, यस्तो छ मुख्यमन्त्री र ठेकेदार कनेक्सन

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:०९

काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन...

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

तिहारमा ४० करोडको भाइमसला आयत, २० प्रतिशतसम्म मूल्य बढ्ने

वि.सं.२०७९ कात्तिक १ मंगलवार ०७:४८

काठमाडौं । यो वर्षको तिहारमा ४० करोड रुपैयाँ बराबरको भाइमसला...

दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि

दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि

वि.सं.२०७९ असोज २५ मंगलवार १०:५८

काठमाडौं । दशैंमा ५७ अर्ब रुपैयाँले नगद सर्कुलेसन वृद्धि भएको...

बैंक र वित्तीय संकटबारे अध्ययन गर्ने ३ अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

बैंक र वित्तीय संकटबारे अध्ययन गर्ने ३ अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

वि.सं.२०७९ असोज २५ मंगलवार १०:५४

काठमाडौं । बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना...

जापनिज येन २४ वर्षयताकै सस्तो

जापनिज येन २४ वर्षयताकै सस्तो

वि.सं.२०७९ असोज २५ मंगलवार १०:५१

काठमाडौं । जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक...