उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति
वि.सं.२०८१ चैत ७ बिहीवार
काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल नियमित विद्युत आपूर्तिको माग गरेको छ।
परिसंघका अनुसार नेपाल विद्युत प्राधिकरणले केही समयअघि जस्तै उद्योगहरुलाई विद्युत आपूर्तिमा कटौती गर्दै बाहिर निर्यात गर्ने कार्य दोहोर्याएको छ। फलस्वरूप, उद्योगहरुको उत्पादन लागत बढ्नुका साथै समग्र उत्पादनमा नकारात्मक असर परिरहेको छ। परिसंघले दैनिक १२ घण्टासम्म लोडसेडिङ्गले उद्योगहरुलाई ‘प्रताडित’ पार्ने काम भइरहेको उल्लेख गर्दै यस्तो अवस्थाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई समेत सशंकित बनाउने चेतावनी दिएको छ।
“सरकार उद्योग प्रवर्द्धनका लागि कानुनी सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत छ, तर सरकारी निकायकै कारण उद्योगहरु मर्माहत भएका छन्,” परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परिसंघले विद्युतलाई उद्योगका लागि प्रमुख कच्चा पदार्थका रूपमा व्याख्या गर्दै नियमित आपूर्तिको व्यवस्था तुरुन्त गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्रकाशित समय : १८:१७ बजे


















