हाम्रा पुर्खाले विकास गरेको प्रविधि र अर्थतन्त्रको जगमा टेकेर आधुनिक समाजवादको निर्माण गर्नुछ : प्रचण्ड
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रा पुर्खाले विकास गरेको प्रविधि र अर्थतन्त्रको जगमा टेकेर आधुनिक समाजवादको निर्माण गर्नुपर्ने बताएका छन् ।
सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका अवस्थामा चिनिए पनि विगत ५०, ६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताएका छन् ।
प्रचण्डले भने– ‘समाजवाद नक्कल गरेर, कुनै पार्टी विशेषले दस्ताबेजमा लेखेर आउने होइन जगबाटै उमार्ने र निर्माण गर्न कुरा हो’, ‘उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’
समाजवादप्रति आस्था राख्ने सबैलाई घिमिरेको पुस्तक पढ्न र चिन्तन मनन गर्न विशेष अपिल गर्दै उक्त पुस्तकले समाजवादबारे नयाँ बहस सुरु गरेको उनले बताए ।
कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेता र पार्टीहरूले सत्तामा जाँदा इतिहास भुल्ने गरेकाले नेपाल र नेपालीले अहिले दुर्दशा भोग्नुपरेको बताए ।
‘हामी राजनीतिज्ञ, कर्मचारी र उद्योगपति सबैले अप्ठेरोमा यो देशलाई पारेका छौ’, उनले प्रचण्डलाई जनताको कल्याण र हितका निम्ति बोल्न आग्रह गर्दै नेपालमा १०१ जना भन्दा बढीको संसद् आवश्यक नभएको बताए ।
भण्डारीले सीमान्तकृतका नाममा हुनेखाने र पहुँच भएकाहरू संसद् मन्त्री बनेको भन्दै त्यसकैका लागि माओवादीले जनयुद्ध गरेको हो ? भनेर प्रश्न गरे । भण्डारीले देश बनाउने कुरामा मन पग्लिन्छ भनेर सधैँ कमलो मन नबनाउन प्रचण्डलाई आग्रह गर्दै मुलुक बनाउने दृढताका साथ अघि बढ्न आग्रह गरे ।
प्रकाशित समय : १७:५० बजे





















