‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा
वि.सं.२०८१ असोज ६ आइतवार
गण्डकी । पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।
माछापुच्छ्रे हिमाल फेवातालमा पौडी खेल्ने यहाँको प्राकृतिक विशिष्टतालाई विभिन्न कलाकार तथा साहित्यकारले आफ्ना कला र साहित्यमा चित्रित गर्दै आएका छन् । कलाप्रेमीले यहाँको सौन्दर्यतालाई कलाका माध्यमबाट प्रस्तुत गर्दै विभिन्न समयमा प्रदर्शनीसमेत गर्दै आएका सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष डिबी गुरुङले बताए । समूहको सक्रियतामा कला लक्षित विभिन्न कार्यक्रमका साथै वर्षको एकपटक मनुसन कला प्रदर्शनी गर्दै आइएको उहाँले जानकारी दिए ।
“समूहको सक्रियतामा बर्सेनी गर्दै आएको प्रदर्शनीअन्तर्गत यस वर्ष असोज ३ गतेदेखि ‘चौँथो सामूहिक कला प्रदर्शनी २०८१’ पोखरा आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ”, गुरुङले उनले भने, “यस प्रदर्शनीमा अग्रज तथा अनुज पुस्ताका ४७ कलाकारबाट सिर्जित ५५ कलाकृति प्रदर्शनमा राखिएका छन् ।” प्रदर्शनीमा पुगेका जो कोहीले भित्तामा टाँसिएका हरेक कलाकृतिलाई अभिरुचिपूर्वक अवलोकन गरिरहेका उनले बताए ।
देशका विभिन्न स्थान र परिवेशलाई आफ्ना कलामा प्रस्तुत गरिएका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको अध्यक्ष गुरुङले जानकारी दिए । कलाका क्षेत्रमा लामो समयदेखि अनवरत लागेका बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थलगायत अनुज पुस्ताका युवा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका उनले उल्लेख गरे ।
प्रदर्शनीमा कलाकार गोपाल दराईले तयार पारेका ओखलढुङ्गाको कलाकृतिदेखि प्राज्ञ नगेन सिंहले तयार गरेको बैतडीस्थित पात्ताल भुवनेश्वर गुफालगायत कलाकृतिले विभिन्न स्थान र परिवेशलाई जीवन्त प्रस्तुत गरेको देखिन्छ । नेपालको गहिरो गुफाका रुपमा पात्ताल भुवनेश्वर परिचित छ । त्यस्तै वरिष्ठ कलाकार बुद्धि गुरुङको पशुपतिनाथ, सौगात गुरुङको फेवाताललगायत कला प्रदर्शनीका आकर्षण बनेका छन् ।
ग्यालरी छिरिसकेपछि कलाकार जित गुरुङले तयार गर्नुभएको गुरुङ पैडी (ज्योतिषि) को मूर्तिले जो कोहीको मन छुने गरेको छ । गुरुङ समुदायका मानिसले आफ्नो जन्म, मृत्यु, विवाहलगायत संस्कार, शुभ–अशुभ कार्यमा पैडीबाट सेवा लिने विषयलाई उक्त मूर्तिकलामार्फत जानकारी दिन खोजिएको छ ।
हालै उक्त मूर्ति तयार गरेको जानकारी दिँदै कलाकार गुरुङले आफूले यस्ता विभिन्न कलाकृति तयार गरिरहेको बताए । प्रदर्शनीमा डिबी गुरुङले पानी रङ्गमा तयार गरेको कास्कीका पर्यटकीय गुरुङ गाउँहरू घान्द्रुक, ताङ्तिङका कला राखिएका छन् । हिमाली तथा लेकाली जीवनलाई ती कलाकृतिले जीवन्त चित्रण गरिरहेका छन् ।
त्यस्तै दुर्गा केसीको पदयात्रा, सङ्गीता घिमिरेको बुद्धलगायत कला प्रदर्शनीमा सजाइएका छन् । अमृत परियारले तयार गर्नुभएको माछापुच्छ्रे हिमालसँगै रहेको चौरी, लोकप्रसाद गुरुङको रोपाइँ, वामन चालिसको क्यारिकेचरले समाजका विविधतालाई प्रस्तुत गर्न खोजेको देखिन्छ ।
प्रदर्शनी सुरु भएयता अवलोकन गर्न आउने दर्शकको सङ्ख्या दिनप्रतिुदिन बढ्दै गएको युवा कलाकार स्मृति गुरुङले बताए । पछिल्ला समयमा कलाकारप्रति धेरै युवाको आकर्षण बढ्दो रहेको पाइएको भन्दै उहाँले कक्षा १२ को परीक्षा दिएर कला सिकिरहेको जानकारी दिए ।
पछिल्ला समयमा पठन संस्कृति हराउँदै गएजस्तै कलाप्रतिको आकर्षण पनि घट्दै गएको समूहका अध्यक्ष गुरुङले कलाप्रति युवाको आकर्षण बढाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । “कला सिर्जनाप्रति पछिल्लो समयमा आकर्षण घट्दै गएको देखिन्छ”, उनले भने, “यसतर्फको आकर्षण बढाउँदै सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रर्दशनी आयोजना गरेका छौँ । यसबाट युवामा सकारात्मक प्रभाव रहेको अपेक्षा गरेका छौँ ।”
कला क्षेत्रको विकासका लागि करिब दुई दशकदेखि सिर्जनशील कलाकार समूहमा आवद्ध भई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार हाल समूहमा ५० जना कलाकर्मी आवद्ध छन् । यही असोज ३ गतेदेखि सुरु भएको प्रदर्शनी असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय : १४:१४ बजे





















